arin enterprises

अस्ताउँदो सुर्यलाई अर्घ दिएर छठ मनाईँदै

SamacharDesk – बिराज | २०७८ कार्तिक २४, बुधबार

आज कार्तिक शुक्ल षष्ठी, तराइवासीहरुको लागि छठ पर्वको मुख्य दिन हो ।

तराइसहित देशका विभिन्न भागमा रहेका तराइवासीहरु नदि, तलाउतिर आज साँझ अस्ताउँदो सूर्यको पूजा गरी अर्घ दिएर मनाईँदैछ ।

आजको दिनमा निराहार व्रत बसी साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ दिइन्छ । अर्घ दिइसकेपछि आज रातभर जाग्राम बस्ने गरिन्छ ।

भोलि भने बिहानै उदाउँदो सूर्यको पूजा आराधना गरी विधिपूर्वक अर्घ दिएपछि पर्व सम्पन्न हुनेछ ।

छठ पर्वमा विशेष गरी सूर्यदेवकै पूजा, आराधना गर्ने गरिन्छ । छठ पर्व मनाउनाले छाला रोग नलाग्ने वा लागेमा निको हुने धार्मिक विश्वास छ ।

महाभारतमा द्रौपदीसहित पाँच पाण्डवले अज्ञातवास शुरु गर्न आफ्नो अज्ञातवास सफल होस् भनी सूर्यदेवको आराधना गरी अर्घ दिएको उल्लेख छ । सोही पूजा, आराधनाले छठ पर्वको रुपमा निरन्तर हुँदै आएको जनविश्वास छ ।

आज छठ पर्वको अवसरमा नेपाल सरकारले सरकारी विदाको घोषणा गरेको छ । 

Categorized in संस्कृति