arin enterprises

अवैध अमेरिकी डलरसहित चिनियाँ नागरिक पक्राउ

SamacharDesk – क्राइम ब्यूरो | २०८० माघ २२, सोमबार

अवैध रूपमा अमेरिकी डलर लुकाएर बाहिर देशमा लान लागेका एक चिनियाँ नागरिक पक्राउ परेका छन् ।

चिनियाँ नागरिक २९ वर्षीय चुइ विङचानलाई आइतबार राति अवैध अमेरिकी डलरसहित प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट एक सय दरका २५० थान गरी जम्मा २५ हजार अमेरिकी डलर बरामद भएको प्रहरीले जनाएको छ ।

चुइ चाईना साउथर्नको उडानबाट काठमाडौंबाट चीनको गोन्जाउ जान लागेका थिए । सोही क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ह्याण्ड व्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उनको ब्यागभित्र प्रहरीले उक्त डलर फेला पारेको हो ।

उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान र कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक पठाइएको प्रहरीले जनाएको छ । 

Categorized in अपराध