संघीय मामिला मन्त्रालयमा कुनै हातपात नभएको सचिवालयको प्रष्टिकरण
SamacharDesk – बिराज | २०७९ जेठ २६, बिहिबार

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रकुमार श्रेष्ठ र सांसद रामबाबुकुमार यादवको भेटघाटमा कुनै चर्काचर्की वा कुटाकुट नभएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।
मन्त्री श्रेष्ठ र सांसद यावद बीचको भेटघाटको विषयमा आज विभिन्न माध्यममा प्रकाशित समाचारको खण्डन गर्दै मन्त्री श्रेष्ठको सचिवालयले यस्तो बताएको हो ।
आज सिंहदरवारस्थित मन्त्रीको कार्यकक्षमा मन्त्री श्रेष्ठ र जनता समाजवादी पार्टीका मधेस प्रदेश अध्यक्षसमेत रहेका सांसद यादवबीच भेटघाट भएको थियो ।
सो भेटघाटमा यादवले मन्त्री श्रेष्ठलाई कुटपिट गरेको, मन्त्रालय भित्रै हातपात भएकाे भन्दै केही अनलाइन संचारमाध्यममा समाचार प्रकाशित भएको थियो ।
सोही समाचारको सम्वन्धमा मन्त्री श्रेष्ठको सचिवालयले विज्ञप्ती प्रकाशित गर्दै त्यस्तो कुनै घटना नभएको र श्रेष्ठ र यादवबीच सामान्य छलफल मात्र भएको प्रष्ट्याएको हो ।
मन्त्री श्रेष्ठका उप स्वकिय सचिव सुरज महर्जनले मन्त्री श्रेष्ठ र सांसद यादवबीच तराई मधेस समृद्धि कार्यक्रम र पालिकाहरुमा स्थानीय पूर्वाधार विकास कार्यक्रमबारे नियमित छलफल मात्र भएको जनाए ।
‘बिना तथ्य प्रायोजित गरिएका यस्ता भ्रामक समाचारप्रति दुःख व्यक्त गर्दै यस्तो प्रायोजित समाचार हटाई सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु’ विज्ञप्तीमा भनिएको छ ।
श्रेष्ठ र यावदबीच छलफलको क्रममा आफु पनि अगाडी नै रहेको र त्यस्तो कुनै किसिमको हातपात नभएको दावी मन्त्री श्रेष्ठका उप स्वकिय सचिव महर्जनले गरे ।
बिना कुनै तथ्य प्रमाण, आग्रह वा पूर्वाग्रहमा परेर भ्रामक समाचारबाट जनतालाई भ्रमित नबनाउन साथै सत्यतथ्यमा आधारित सहि सूचना सम्प्रेषण गर्नका लागि महर्जनले आग्रह गरे ।
Categorized in राजनीति