arin enterprises

काठमाडाैं महानगरका नगरसभा सदस्यहरूले शहिदकाे अपमान गरेकै हुन् त ?

SamacharDesk – बिराज | २०८१ आषाढ १५, शुक्रबार

पछिल्लो समय काठमाडौं महानगरका वडा जनप्रतिनिधिहरु र काठमाडौं महानगर प्रमुखबीच जुहारी निकै चलिरहेको छ ।

काठमाडौं महानगर प्रमुखले मनपरी गरेको, वडासँग समन्वय नै नगरी बलजफ्ती गर्ने गरेको, वडा जनप्रतिनिधिहरुलाई अपमान गरिरहेको आरोप महानगर प्रमुख बालेन्द्र साहलाई लागिरहेको छ ।

यसै क्रममा फेरी नयाँ विषयमा अर्को विषयमा जुहारी सुरु भएको छ ।

शुक्रबार बोलाइएको नगरसभा स्थगित भएको छ । र स्थगित हुनुको कारण खोतल्दा साहले वडाका जनप्रतिनिधिहरुलाई दोष दिएका छन् भने नगरसभा सदस्यहरूले भने आफुहरुलाई महानगर प्रमुख साहले झुठा आरोप लगाएकाे बताएका छन् ।

महानगर प्रमुख साहले नगरसभामा काँग्रेस एमालेले आफ्ना दलका नेताहरुको नाममा करोडौं बजेटमा कार्यक्रम गर्न भनेको तर आफुले त्यो नगर्ने भन्दा वडाका जनप्रतिनिधिहरु वैठक छोडेर हिँडेको भनेका छन् ।

अर्कोतर्फ वडाका जनप्रतिनिधिहरुले भने आफुहरु साढे ३ घन्टा कुरेर बसेको तर महानगर प्रमुख वैठकमा उपस्थित नै नभएको दावी गरेका छन् ।

काठमाडौं महानगर प्रमुख साहले आजै (शुक्रबार) करीब १२ बजेतिर सामाजिक संजालमा स्टाटस पोस्ट गर्दै आफुले दलीय नेताको भन्दा शुक्रराज, दशरथ चन्द, धर्मभक्त र गंगालालको नाममा कार्यक्रम गरौं भन्दा कांग्रेस, एमाले बैठकबाट बाहिरिएको बताए ।

साहले कांग्रेस एमालेले नेपालको क्रान्तीमा शुक्रराज, गंगालालहरुभन्दा कांग्रेस एमालेका नेताहरूको योगदान धेरै देखेको समेत लेखेका छन् ।

काठमाडौं महानगर प्रमुख साहले यसो भन्दै गर्दा वडाका जनप्रतिनिधिहरु भने उक्त वैठकमा महानगर प्रमुख उपस्थित नै नभएको बताएका छन् ।

वैठकमा उपस्थित एक जनप्रतिनिधि (अहिले लागि उहाँलाई एबिसी नाम दिउँ) ले आफुहरु नगरसभामा महानगर प्रमुखलाई कुरेरै बसेको तर साढे ३ घन्टासम्म पनि प्रमुख आइनपुगेपछि मात्रै आफुहरु फर्केको बताए ।

‘हामीले त साढे ३ घन्टा कुरेकै हो तर महानगर प्रमुख आइपुग्नु नै भएन र उल्टै हामीलाई नै झुठो आरोप किन लगाइराख्नु भएको छ ? अब उहाँ उपस्थित नै नभएको वैठकमा उहाँले के प्रस्ताव कसरी राख्नुभयो त ?’ एबिसीले भने ।

सो वैठकमा महानगर प्रमुख उपस्थित नभएपछि वडाध्यक्ष र सदस्यहरुले मेयर बालेन साह हराएको सूचना निकाल्नुपर्ने टिप्पणी समेत गरेको एबिसीले बताए ।

नाम किन सार्वजनिक गर्न नहुने भन्ने प्रश्नमा एबिसीले मेयरको कुनै पनि कामको आलोचना गरे वा कुनै गलत कुराको विरोध गरे साहले वडालाई अनावश्यक तनाव र दुःख दिने गरेकोले आफ्नो नाम सार्वजनिक गर्न नचाहेको भने ।

‘हामीले त हरेक कार्यक्रम र वैठकमा शहिदहरुलाई सम्झिने श्रद्धान्जलि दिने गरेका छौं । ल मेयर सापले भन्नुहोला, उहाँ शहिदको नाममा हुने कतिवटा कार्यक्रममा सहभागी हुनुभएको छ ?’

उक्त नगरसभामा कांग्रेस एमालेले शहिदहरुको अपमान गरेकै हो भए प्रमाण पेश गर्न समेत एबिसीले साहलाई चुनौती दिए ।

‘सिसिटिभी फुटेज छ, कल रेकर्ड होला, साक्षी कोही होला । महानगर प्रमुखले प्रमाण पेश गरुन् र हामीले शहिदहरुको अपमान गरेको प्रमाणित गरोस्’ एबिसीले भने ।

अर्का एक वडा जनप्रतिनिधि (अहिलेको लागि उहाँलाई कखग भनेर चिनौं) ले पनि एबिसीको कुरामै सही थापे । उनले पनि उक्त वैठकमा महानगर प्रमुख उपस्थित नै नभएको बताए ।

र आफुहरुले कहिले पनि शहिदहरुको अपमान गर्न नसक्ने भन्दै महानगर प्रमुखले किन झुठो बोले र आफुहरुलाई बदनाम गर्न खोजे भन्ने कुरा बुझ्न नसकेको बताए ।

‘हामीले हाम्रो पार्टीकै हरेक कार्यक्रम र वैठकमा समेत शुक्रराज, गंगालाल, दशरथचन्द र धर्मभक्त माथेमालाई श्रद्धान्जली दिने गरेको र शहिदहरुको नाममा गरिने कार्यक्रममा कहिल्यै अवरोध नपुर्‍याएको र नपुर्‍याउने समेत उनले भने ।

‘हामीले त हरेक कार्यक्रम र वैठकमा शहिदहरुलाई सम्झिने श्रद्धान्जलि दिने गरेका छौं । ल मेयर सापले भन्नुहोला, उहाँ शहिदको नाममा हुने कतिवटा कार्यक्रममा सहभागी हुनुभएको छ ?’ कखगले भने ।

आफुले आजसम्म शहिदको नाममा सिंको नभाँच्ने तर शहिदहरुको सम्मानमा शहिद सप्ताह मनाइरहेका, शहिदहरुकै नाममा पार्क बनाइरहेका जनप्रतिनिधिहरुलाई किन झुठा आरोप लगाइयो भनेर उनले प्रश्न तेर्साए ।

आफूले ल्याएको नीति तथा कार्यक्रम पारित नहुने देखिएपछि मेयर साह बैठकमै नआएको सबैको दावी छ ।

साहले ल्याएको नीति तथा कार्यक्रमलाई असार १० को नगर सभा बैठकले नै अस्वीकृत गरिदिएको थियो ।

त्यसबेला एमालेबाट जितेर आएका वडा नं. ३२ का अध्यक्ष नवराज पराजुली, कांग्रेसबाट जितेर आएका वडा १७ का अध्यक्ष नवीन मानन्धर र एकीकृत समाजबादीबाट जितेर आएका वडा १५ का अध्यक्ष ईश्वरमान डंगोलले संयुक्त रुपमा नीति तथा कार्यक्रममा संशोधन प्रस्ताव हालेका थिए ।

तर मेयर साहले जबर्जस्ती नीति तथा कार्यक्रम पारित गर्न खोजेपछि सभामै विरोध भएको थियो ।

शुक्रबारको बैठकमा पनि आफुले ल्याएको नीति तथा कार्यक्रम विना संशोधन पारित नहुने देखिएपछि मेयर साह नगरसभामा अनुपस्थित भइदिएको वडा जनप्रनिनिधिहरुको आरोप छ ।

नगरसभाका सदस्यहरुले आज पनि विना संशोधन नीति तथा कार्यक्रम पारित गर्न नदिने तयारी गरेका थिए । यो थाहा पाएपछि मेयर साह नगरसभा ‘फेस’ गर्न समेत डराएको नगरसभा सदस्यहरुले बताएका छन् ।

Categorized in स्थानीय