आजै दुई जना संक्रमितको मृत्यु पुष्टि
SamacharDesk – विकाश | २०७७ जेठ ३१, शनिबार

नेपालमा आजै दुई जना कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज वीरगंजका एक युवक र बाराका एक बालकको कोरोना संक्रमणका कारण मृत्यु भएको जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित प्रेस व्रिफिङमा पर्सा जिल्ला वीरगंज महानगरपालिका घन्टाघरमा फेला परेको युवकको बेवारिसे शवको परिक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको जानकारी दिए ।
गत जेठ २८ गते फेला परेको अन्दाजी २५ वर्षीय युवकको बेवारीसे शवलाई पोस्टमार्टमका लागि नारायणी अस्पताल पठाइएको थियो भने उनको स्वाब संकलन गरी सोही अस्पतालको प्रयोगशालामा परिक्षण गरिएको थियो ।
जेठ ३० गते आएको रिपोर्टमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।
त्यसैगरी हिजो मृत्यु भएका ५ वर्षीय बालकको परिक्षणको रिपोर्ट पनि पोजेटिभ नै आएको छ ।
बारा निजगढ नगरपालिका वडा ६ योजना टोलका बालकमा ज्वरो तथा श्वासप्रश्वासको समस्या देखिएपछि हिजो वीरगंज हेल्थ केयर अस्पतालमा लगिएको थियो ।
बालकको आरडिटी परिक्षणमा पोजेटिभ देखिएपछि उनलाई आइसोलेसन वार्डमा राखी उपचार गरिँदै थियो ।
उनको स्वाब संलकन गरी नारायणी अस्पतालको प्रयोगशाला परिक्षणमा पठाइएको थियो । तर रिपोर्ट नआउँदै हिजै उनको निधन भएको थियो ।
आज मृत्यु भएका दुवै मृतकको पनि मृत्यु पछि संक्रमण पुष्टि भएको थियो ।
आज दुई जनाको मृत्यु भएसँगै कोरोना संक्रमितको मृत्यु संख्या १८ पुगेको छ ।
Categorized in समाज