कोरोनाको “फ्लर्ट” भाइरसको बिगबिगी बढेको डब्ल्यूएचओको ठहर
SamacharDesk | २०८१ आषाढ २८, बिहिबार

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले अहिले विश्वमा कोरोनाभाइरसका नयाँ भेरिअन्टहरूको एउटा समूह फैलिरहेको जनाएको छ।
एफएलआईआरटी अर्थात् 'फ्लर्ट' उपनाम दिइएको उक्त समूहका भाइरस कोभिड-१९ महामारी फैलिएपछि उत्पन्न भएका भेरिअन्टमध्ये नयाँ हुन्।
डब्ल्यूएचओले कोरोनाभाइरसको मुख्य भेरिअन्ट जेएन. १ बाट उक्त समूहमा पर्ने भेरिअन्टहरू उत्पन्न भएका जनाएको छ ।
'फ्लर्ट' कोरोनाभाइरसको सतहमा हुने काँडेदार 'स्पाइक प्रोटीन'मा मुख्यतः तीनवटा उत्परिवर्तन भएको र त्यसबाट तिनले मानिसको शरीरमा उत्पन्न हुने रोगप्रतिरोधात्मक तत्त्व 'एन्टिबडी'लाई छल्न सक्ने जोन्स हप्किन्स यूनिभर्सिटीले जनाएको छ।
यूकेको स्वास्थ्य सुरक्षा निकायले नयाँ भेरिअन्टहरू कति गम्भीर र सङ्क्रामक छन् भनेर जान्न 'थप तथ्याङ्क' आवश्यक भएको जनाएको छ।
तर यूकेमा फैलिएका अरू भेरिअन्ट र फ्लर्ट भेरिअन्टका कारण हुने कोभिडको गम्भीरतामा फरक भएको प्रमाण अहिले उपलब्ध नभएको उसले जनाएको छ। 'फ्लर्ट' समूहमा पर्ने भेरिअन्टबाट सङ्क्रमण हुँदा अरू भेरिअन्टले गराउने कोभिडको जस्तो लक्षण देखा पर्ने जनाएको छ ।
डब्ल्यूएचओका अनुसार कोरोनाभाइरसको संसर्गमा आएको पाँच वा छ दिनपछि लक्षणहरू देखा पर्न थाल्छन् र एकदेखि १४ दिनसम्म रहन्छन्। सो भाइरको लक्षहरुमा:
-ज्वरो आउनु, -काँप छुट्नु,
-घाँटी दुख्नु,
-मांसपेशी दुख्नु र हात वा खुट्टा गल्नु
-निकै थकाइ लाग्नु
-नाकबाट पानी बग्नु वा नाक बन्द हुनु, हाछ्यूँ आउनु
-टाउको दुख्नु
-आँखा दुख्नु
-निद्रा लागे जस्तो हुनु
-नयाँ र निरन्तर खोकी लाग्नु
-छाती कक्रक्क पर्नु वा दुख्नु
-सास रोकिए जस्तो हुनु
-स्वर धोत्रो हुनु
-शरीरको अङ्ग निदाए जस्तो हुनु वा झमझमाउनु
-खान अरुचि हुनु, वाकवाक लाग्नु, बान्ता हुनु, पेट दुख्नु वा झाडापखाला लाग्नु
-स्वाद वा गन्ध हराउनु वा फेरिनु
-सुत्न नसक्नु आदि लक्षणहरु देखापर्ने जनाइएको छ ।
Categorized in अन्तर्राष्ट्रिय