थप एक कोरोना संक्रमितको मृत्यु
SamacharDesk – विकाश | २०७७ आषाढ १२, शुक्रबार

दाङमा मृत अवस्थामा भेटिएकि महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिकै भेटिएकि मृत महिलाको परिक्षणमा कोरोना पोजेटिभ देखिएको जनाएको छ ।
हिजो दाङमा प्रतिष्ठान नजिकै अन्दाजी २५–३० वर्षीया महिला अचेत अवस्थामा भेटिएकी थिइन् ।
उक्त महिलालाई प्रहरीले प्रतिष्ठानमा लगेको थिए भने चिकित्सकले जाँच गर्दा उनको मृत्यु भइसकेको भनेका थिए ।
हिजै उक्त महिलाको स्वाब नमूना संकलन गरी प्रतिष्ठानमा जाँच गरिएकोमा आज आएको उनको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले भनेको हो ।
महिलाको पहिचान खुलेको छैन भने उनको परिवारको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
महिलाको अन्य जाँचहरु भइरहेको प्रतिष्ठानले जानकारी दिएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ ।
Categorized in समाज