नयाँ संक्रमितको संख्यामा कमी आउँदै
SamacharDesk – बिकाश | २०७८ जेठ ३१, सोमबार

नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा थप हुने कोभिड १९ का नयाँ संक्रमितको संख्या ३ हजारभन्दा कम रहेको छ ।
पछिल्ला दिनहरुमा नयाँ संक्रमितको संख्यासँगै कोभिडका कारण मृत्यु हुनेको संख्यामा पनि कमी आउँदै गरेको छ । यसको साथमा संक्रमण निको हुनेको संख्या बढ्दो दरमा छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार परिक्षण संख्याको १९ दशमलव ६९ प्रतिशतमा संक्रमण पुष्टि भएको छ ।
जम्मा १४ हजार ६१९ जनाको स्वाब नमूनाको परिक्षण गरिँदा २ हजार ९१८ जनामा संक्रमण पुष्टि भएको हो । ९ हजार ४३८ आरटी पिसिआर परिक्षणमा २ हजार ४९ जनामा र ५ हजार ३८१ जनाको एन्टिजेन परिक्षणमा ८६९ जनामा संक्रमण पुष्टि भएको हो ।
तीमध्ये १० वर्षसम्मका बालबालिकाहरु ६४ जना छन् भने ११ देखि २० वर्ष उमेर समूहका २०८ जना छन् । नेपालमा हालसम्म ६ लाख ३१ हजार ८६० जनालाई कोभिड संक्रमण भइसकेको छ ।
गएको २४ घण्टामा जम्मा ५ हजार १४७ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा ५ लाख ३६ हजार २५२ जना संक्रमित संक्रमणमुक्त भइसके ।
हाल ६५ हजार ९१५ जना सक्रिय संक्रमित उपचाररत छन् । ६१ हजार १२२ जना संक्रमित होम आइसोलेसनमा छन् भने ४ हजार ६८२ जना विभिन्न संस्थागत आइसोलेसनमा उपचाररत छन् ।
आइसीयूमा ९९५ जना छन् भने तीमध्ये ३२४ जनालाई भेन्टिलेटरमा राखेर उपचार गरिँदैछ ।
थप ५३ जना संक्रमितको मृत्यु भएसँगै कोभिड १९ का कारण मृत्यु हुनेको संख्या ८ हजार ४६५ पुगेको छ ।
Categorized in राष्ट्रिय