आजसम्मकै उच्च संख्यामा निको, एकैदिन ८ हजार बढि संक्रमणमुक्त
SamacharDesk – बिकाश | २०७८ जेठ ८, शनिबार

नेपालमा आजसम्मकै उच्च संख्यामा कोभिड १९ संक्रमितहरु निको भएका छन् ।
पछिल्लो २४ घण्टामा ८ हजार ८४८ जना संक्रमितहरु संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म ३ लाख ८३ हजार ६८४ जना संक्रमणमुक्त भइसकेका छन् ।
आज संक्रमणको दर भने पछिल्ला केही दिनको तुलनामा बढेको देखिएको छ । केही दिन परिक्षण संख्याको आधारमा नयाँ संक्रमणको दर ४० प्रतिशत भन्दा तल रहेकोमा आज फेरी परिक्षणको ४४ दशमलव ६६ प्रतिशत संक्रमित भेटिएका छन् ।
पछिल्लो २४ घण्टामा गरिएको २० हजार १०५ जनाको स्वाब नमूनाको परिक्षणमा ८ हजार ९८० जना संक्रमित भेटिएका हुन् । १९ हजार ३५७ आरटी पिसिआर परिक्षणमा ८ हजार ५९१ र ७४८ एन्टिजेन परिक्षणमा ३८९ जनामा संक्रमण पुष्टि भएको हो । \
नयाँ संक्रमितमध्ये ९ वर्षसम्मका २२० जना बालबालिका छन् भने १० देखि १९ वर्ष उमेर समूहका ६१५ जना छन् । आजको थप संख्यासँगै नेपालमा कोभिड १९ बाट संक्रमित हुनेको कुल संख्या ५ लाख नाघेको छ ।
हालसम्म ५ लाख ५ हजार ६४३ जना कोभिड १९ बाट संक्रमित भइसके ।
हाल एक लाख १५ हजार ८०६ जना सक्रिय संक्रमित उपचाररत छन् । एक लाख ८ हजार १०३ जना संक्रमित होम आइसोलेसनमा छन् भने ७ हजार ७०३ संक्रमित विभिन्न संस्थागत आइसोलेसनमा उपचाररत छन् ।
आइसीयूमा रहेका एक हजार ७३२ संक्रमितमध्ये ५२३ जनालाई भेन्टिलेटरमा राखेर उपचार गरिँदैछ ।
थप १२९ जना संक्रमितको मृत्यु भएसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ हजार १५३ पुगेको छ ।
Categorized in राष्ट्रिय