५ हजार ३१६ नयाँ संक्रमित थप
SamacharDesk – बिकाश | २०७८ जेठ १९, बुधबार

हिजो २० हजार जनाको स्वाब नमूनाको परिक्षण गरिएकोमा आज परिक्षण संख्या फेरी पनि घटाइएको छ ।
जनस्वास्थ्यविद्हरुबाटै हालको अवस्थामा संक्रमण बढाइनुपर्ने विचार सार्वजनिक भइरहँदा आज फेरी १७ हजारभन्दा कम मात्र स्वाब नमूनाको परिक्षण भएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा मात्र १६ हजार ८७८ जनाको स्वाब नमूनाको परिक्षण गरिएको छ । जम्मा १३ हजार ८०५ जनाको आरटी पिसिआर र ३ हजार ७३ जनाको एन्टिजेन परिक्षण गरिएको थियो ।
परिक्षण संख्याको ३१ दशमलव ४९ प्रतिशतमा संक्रमण पुष्टि भएको छ । पिसिआर परिक्षणमा ४ हजार ५२४ जनामा र एन्टिजेन परिक्षणमा ७९२ जनामा संक्रमण पुष्टि भएको हो ।
तीमध्ये १२७ जना १० वर्षसम्मका बालबालिकाहरु रहेका छन् भने ११ देखि २० वर्षसम्मका ३६९ जना छन् । हालसम्म ५ लाख ७१ हजार १११ जना कोभिड संक्रमित भइसके ।
हाल एक लाख ४ हजार ७८९ जना सक्रिय संक्रमित उपचाररत छन् । ९५ हजार १३१ जना संक्रमित होम आइसोलेसनमा छन् भने ६ हजार ८६२ जना विभिन्न संस्थागत आइसोलेसनमा छन् ।
आइसीयूमा रहेका एक हजार ४४६ जनामध्ये ३८५ जना भेन्टिलेटरमा उपचाररत छन् ।
गएको २४ घण्टामा ७ हजार २९१ जना संक्रमित निको हुँदै घर फर्केका छन् । हालसम्म ४ लाख ६१ हजार ५६३ जना संक्रमित संक्रमणमुक्त भइसके । नेपालमा कोभिड संक्रमण निको हुनेको दर ८० दशमलव ८ प्रतिशत रहेको छ ।
थप १०१ जना संक्रमितको मृत्यु भएसँगै नेपालमा कोभिड १९ संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार ५५५ पुगेको छ ।
Categorized in राष्ट्रिय