arin enterprises

फेरी घट्न थाल्यो कोरोना परिक्षण

SamacharDesk – बिकाश | २०७८ जेठ २३, आइतबार

नेपालमा कोभिड संक्रमणको अवस्था थाहा पाउन, नयाँ संक्रमितको पहिचान गर्नका लागि गरिने परिक्षणको संख्या घट्ने क्रम जारी रहेको छ ।

विज्ञहरुबाट परिक्षणको दायरा फराकिलो बनाउनुपर्ने बताउँदै आइरहेको बेला आज मात्र १३ हजार ७३३ जनाको स्वाब नमूनाको परिक्षण गरिएको छ । १० हजार ४७१ आरटी पिसिआर र ३ हजार २६२ एन्टिजेन परिक्षण गरिएको हो ।

परिक्षणको २५ दशमलव ३३ प्रतिशत संक्रमित भेटिएका छन् ।

पछिल्लो २४ घण्टामा जम्मा ३ हजार ४७९ जना नयाँ संक्रमित भेटिएका छन् । आरटी पिसिआर परिक्षणबाट ३ हजार २४ र एन्टिजेन परिक्षणबाट ४५५ जना संक्रमित भेटिएका हुन् ।

तीमध्ये ९१ जना १० वर्ष मुनिका बालबालिका छन् भने ११ देखि २० वर्ष उमेर समूहका २५७ जना छन् ।

योसँगै नेपालमा कोभिड १९ संक्रमित हुनेको कुल संख्या ६ लाख नाघेको छ । हालसम्म ६ लाख एक हजार ६८३ जनालाई कोरोना संक्रमण भइसकेको छ ।

हाल ८९ हजार २१७ जना सक्रिय संक्रमित उपचाररत छन् । तीमध्ये ८२ हजार ७०३ संक्रमित होम आइसोलेसनमा छन् भने ६ हजार ५१४ जना विभिन्न संस्थागत आइसोलेसनमा छन् ।

आइसीयूमा रहेका एक हजार ४४२ जनामध्ये ३८१ जनालाई भेन्टिलेटरमा राखेर उपचार गरिँदैछ ।

पछिल्लो पटक ६ हजार ६३६ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । हालसम्म ४ लाख ९१ हजार ९ जना संक्रमित निको भइसकेका छन् । संक्रमण निको हुनेको दर साढे ८३ प्रतिशत पुगेको छ ।

थप ९९ जना संक्रमितको मृत्यु भएसँगै कोभिड १९ संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या ७ हजार ८९८ पुगेको छ ।

Categorized in राष्ट्रिय