arin enterprises

संक्रमितसँगै मृतकको संख्या पनि बढ्दै

SamacharDesk – बिकाश | २०७८ श्रावण २०, बुधबार

पछिल्ला दिनहरुको तुलनामा नेपालमा आज सबैभन्दा बढि संख्यामा कोभिड १९ का नयाँ संक्रमितहरु भेटिएका छन् भने मृत्यु हुनेको संख्या पनि बढेकै पाइएको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार बढि नयाँ संक्रमितहरु भेटिएका छन् । जम्मा १६ हजार २९८ जनाको स्वाब नमूनाको संकलन गरिँदा ४ हजार १०७ जनामा संक्रमण पुष्टि भएको छ ।

तीमध्ये ७१ जना १० वर्षसम्मका बालबालिकाहरु रहेका छन् भने ११ देखि २० वर्ष उमेर समूहका २५५ जना छन् । हालसम्म ७ लाख ६९ हजार ९२२ जना कोभिड १९ बाट संक्रमित भइसके ।

त्यस्तै कोभिड १९ संक्रमणका कारण थप ३५ जनाको मृत्यु भएको छ । कोभिड १९ संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या १० हजार नजिक पुगिसकेको छ । हालसम्म ९ हजार ९५७ जना संक्रमितको मृत्यु भइसकेको छ ।

नयाँ संक्रमित र मृत्युको संख्यासमेत बढ्दै गएको अवस्थामा निको हुनेको संख्यामा भने कमी आइरहेको छ ।

पछिल्लो पटक जम्मा एक हजार ५३५ जना संक्रमित संक्रमणमुक्त हुन सफल भएका छन् । योसँगै कोभिड १९ संक्रमण निको हुनेको कुल संख्या ६ लाख ६१ हजार ६५१ पुगेको छ । निको हुनेको दर पनि घटेर ९३ दशमलव ८ प्रतिशतमा झरेको छ ।

हाल ३३ हजार ४६४ जना सक्रिय संक्रमित उपचाररत अवस्थामा छन् । ३० हजार २७० संक्रमित होम आइसोलेसनमा छन् भने ३ हजार १९४ संक्रमित विभिन्न संस्थागत आइसोलेसनमा उपचार गराइरहेका छन् । आइसीयूमा रहेका ७१४ मध्ये १५६ भेन्टिलेटरमा छन् । 

Categorized in राष्ट्रिय