भ्रष्टाचारको मुद्दामा पाँच वर्षे हदम्याद हटाइयो
SamacharDesk | २०८१ भाद्र १४, शुक्रबार

भ्रष्टाचारको मुद्दामा पाँच वर्षे हदम्याद हटाइएको छ ।
चौतर्फी दबाबपछि भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमा भ्रष्टाचारको मुद्दामा पाँच वर्षे हदम्यादसम्बन्धी प्रावधान नराख्ने प्रस्ताव संसदीय समितिबाट पारित भएको छ।
समिति बैठकले हदम्याद हटाउने विषय सर्वसम्मतिले पारित गरेको हो । आज सिंहदरबारमा बसेको समितिको बैठकमा हदम्याद सम्बन्धी प्रावधान हटाउन गृहमन्त्री रमेश लेखकले राख्नुभएको प्रस्तावमा समितिका सबै सदस्यले सहमति जनाएपछि सो प्रस्ताव सर्वसम्मतिले पारित भएको हो।
सरकारको सहमतिसंगै समिति सभापति रामहरि खतिवडाले विधेयकको दफा १६ मा राखिएको भ्रष्टाचारका मुद्दामा पाँच वर्षीय हदम्यादको प्रावधान हटाउने प्रस्ताव राख्नुभएको थियो ।
बैठकमा गृहमन्त्री लेखकले सो विधेयकमाथि सांसद, सदन र आम नागरिक र बुद्धिजीवीले पनि हदम्याद हटाउने कुरा गरेकाले भ्रष्टाचारका विषयमा जहिले पनि मुद्दा चल्ने कुरालाई सुनिश्चित हुनेगरी म्यादको प्रावधान विधेयकबाट हटाउनुपर्ने प्रस्ताव गर्नुभएको थियो।
सरकारले भ्रष्टाचारका कसुरमा पाँच वर्षीय हदम्याद राख्दै विधेयक दर्ता गरेपछि यसबारे चौतर्फी आलोचना हुँदै आएको थियो ।
Categorized in राष्ट्रिय