arin enterprises

मोरङमा घाँटी रेटी प्रधानाध्यापकको हत्या

SamacharDesk – बिकाश | २०७७ मङ्सिर २३, मंगलबार

मोरङको मिक्लाजुङ गाउँपालिकामा एक विद्यालयको प्रधानाध्यापकको घाँटी रेटी हत्या भएको छ । मिक्लाजुङ–१ बर्खे बस्ने सोही ठाउँस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक अन्दाजी ५२ वर्षीय राजेन्द्र श्रेष्ठको आज बिहान घाँटी रेटी हत्या भएको हो ।

आज विहान करिब सवा ७ बजे ५ जनाको समूहका आएका अपरिचित व्यक्तिहरुले प्रधानाध्यापक श्रेष्ठलाई अपहरण गरी लगेका थिए ।

घटनापछि जिल्ला प्रहरी कार्यालय मोरङ समेतबाट प्रहरी उपरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले उनको खोजी शुरु गरेको थियो ।

खोजी गर्दै जाँदा बर्खे गाउँदेखि करिब ६ सय मिटर टाढा जंगलमा दुवै हात बाँधी अगाडिबाट घाँटी रेटेर हत्या भएको अवस्थामा प्रहरीले प्रधानाध्यापक श्रेष्ठको शव फेला पारेको हो ।

घटनामा संलग्न व्यक्तिहरु हाल फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान अगाडी बढिसकेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।

Categorized in अपराध