कामपाबाट शिक्षण अस्पताललाई सिटी स्क्यान सहयोग
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ माघ १७, सोमबार

काठमाडौँ महानगरपालिकाले त्रि. वि. शिक्षण अस्पताललाई अत्याधुनिक सीटी स्क्यान मेसिन प्रदान गरेको छ ।
सोमवार अस्पतालमा पुगेर महानगरका मेयर विद्यासुन्दर शाक्यले अस्पतालका निमित्त कार्यकारी निर्देशक प्रा. डा. सुवासप्रसाद आचार्यलाई मेसिन खरिद गर्दाको रकम बराबरको चेक प्रदान गर्नुभयो ।
त्यस क्रममा बोल्दै मेयर शाक्यले, उपचार नपाएर मानवीय क्षति नहोस् भनेर महानगरले स्वास्थ्य सेवामा लगानी बढाएको बताउनुभयो ।
सामुदायिक अस्पतालको प्राविधिक क्षमता विकास गर्दै उपचारका लागि विरामीमा विश्वास बढाएर निजी स्वास्थ्य संस्थाभन्दा अब्बल बन्नुपर्ने धारणा शाक्यले राख्नुभयो ।
त्यसैगरी, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले महानगरले स्वास्थ्य क्षेत्रमा गरेको लगानीबाट सकारात्मक परिणाम देखिन थालेको अनुभव सुनाउनुभयो ।
उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले भन्नुभयो, ‘सीटी स्क्यान मेसिनको उपयोगबाट धेरै विरामीले सरल सेवा पाउनेमा विश्वस्त छु ।’
सिटी स्क्यान मेसिन खरिद गर्न महानगर र अस्पतालविच २०७७ मंसिर ३० गते सम्झौता भएको थियो ।
सम्झौताअनुसार अत्याधुनिक सीटी क्यान मेसिन खरिदका लागि महानगरले उपलब्ध गराएको आर्थिक अनुदानबाट अस्पतालले मेसिन खरिद गरेर पुस ११ गते जडान सम्पन्न गरेको हो ।
सार्वजनिक खरिद ऐनको प्रक्रियाबाट खरिद गरिएको मेसिनको मूल्य ६ करोड १७ लाख १६ हजार ५५७ रुपैयाँ परेको छ ।
त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) का डिन प्रा. डा. दिव्यासिंह शाहले आधुनिक चिकित्सा विज्ञानमा सीटी स्क्यान नभइ नहुने हतियार भएको बताउनुभयो ।
Categorized in स्थानीय