चलचित्र क्षेत्रलाई चलायमान बनाउन सहकार्यमा जाेड
SamacharDesk – बिजयरत्न | २०७८ जेठ ७, शुक्रबार

आगामी दिनमा सिनेमा क्षेत्रलाई कसरी चलायमान बनाउन सकिन्छ भन्ने विषयमा सरोकारवालाहरुले चिन्ता पोखेका छन् ।
१९ औं राष्ट्रिय चलचित्र पत्रकारिता दिवस र चलचित्र पत्रकार संघ नेपालको २२ औं वार्षिकोत्सवको अवसरमा भएको भर्च्युअल कार्यक्रमका वक्ताहरुले चलचित्र क्षेत्रलाई चलायमान बनाउन सम्पूर्ण संघसंस्थाको सहकार्यमा जोड दिए ।
कार्यक्रममा बोल्दै संघका संस्थापक अध्यक्ष भरत शाक्यले महामारीका बीच संघका सदस्यको आर्थिक र स्वास्थ्य अवस्थालाई मजबुत बनाउँदै सिनेमा पत्रकारिताको नयाँ गन्तव्य खोज्नु पर्ने बताए ।
त्यसैगरी संघका पूर्व अध्यक्ष विदुर गिरीले चलचित्र पत्रकारका लागि जेष्ठ ७ दशैं, तिहार जस्तै ठुलो पर्व भएको भन्दै हालको पदाधिकारीले चलचित्र पत्रकारिता पुरस्कार तथा सम्मानलाई छिटै वितरण गर्न सुझाव दिए ।
संघका महासचिव समीर बलामिले अवस्था सामान्य भएपछि हाललाई रोकिएको पुरस्कार तथा सम्मान कार्यक्रम आयोजना गरिने जानकारी दिनुभयो ।
दिवसका अवसरमा विगतका वर्षहरुमा संघले चलचित्र पत्रकारिता पुरस्कार तथा सम्मान कार्यक्रम गर्दै आएको थियो । तर महामारीको अवस्थामा गतवर्ष र यसवर्ष पुरस्कार र सम्मान दिन नसकिएको हो ।
दिवसको शुभकामना कार्यक्रमपछि संघका सदस्यहरुबीच विभिन्न विषयहरुमा अन्तरक्रिया पनि भएको थियो ।
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालको साथै संघका पूर्व अध्यक्ष शान्ति प्रिय, निवर्तमान अध्यक्ष सन्दिप सापकोटा, सल्लाहकार समितिका सदस्यहरु विजयरत्न तुलाधर, डब्बु क्षेत्री र लक्ष्मण सुबेदी लगायत सिनेमा क्षेत्रसँग आवद्ध संघसंस्थाका अध्यक्ष र संघका सम्पुर्ण शाखाका अध्यक्षको उपस्थिती रहेको थियो ।
भर्चुअल कार्यक्रममा निर्माता संघका अध्यक्ष आकाश अधिकारी, नृत्य कलाकार संघका अध्यक्ष जनक कार्की, आदिबासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत सुनवार, निर्देशक समाजका महासचिव जनकदिप पराजुली, समीक्षक समाजका अध्यक्ष दिपेन्द्र लामा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
Categorized in पेजथ्री