दीपाश्रीको ब्रेन ट्युमरको शल्यक्रिया सफल
SamacharDesk – विजयरत्न | २०८३ आषाढ २८, आइतबार
लोकप्रिय अभिनेत्री, निर्देशक तथा निर्मात्री दीपाश्री निरौलाको मस्तिष्कमा ट्युमर (ब्रेन ट्युमर) को सफल शल्यक्रिया गरिएको छ ।
पारिवारिक स्रोतका अनुसार विशेषज्ञ चिकित्सकको टोलीले हालै उनको सफल शल्यक्रिया गरेको हो ।
अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. वसन्त पन्त नेतृत्वको चिकित्सक टोलीले उनको ट्युमरको शल्यक्रिया गरेको हो । अस्पताल स्रोतका अनुसार शल्यक्रिया सफल भएको र हाल उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।
उनको मस्तिष्कबाट निकालिएको ट्युमर क्यान्सरयुक्त हो वा होइन भन्ने पत्ता लगाउन बायोप्सी परीक्षणका लागि प्रयोगशाला पठाइएको छ । बायोप्सीको रिपोर्ट आउन भने बाँकी रहेको चिकित्सकहरूले जनाएका छन् ।
हाल निरौला काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचाररत रहेकी छिन् ।
स्रोतका अनुसार करिब डेढ साताअघि ढाड दुख्ने समस्या भएपछि उनी स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेकी थिइन् ।
प्रारम्भिक परीक्षणपछि चिकित्सकले थप विस्तृत जाँच गर्न सुझाव दिएकोमा परीक्षणबाट उनको मस्तिष्कमा ट्युमर रहेको पत्ता लागेको थियो । ब्रेन ट्युमर पुष्टि भएपछि चिकित्सकले तत्काल शल्यक्रिया गर्ने निर्णय गरेका थिए ।
दीपाश्रीलाई ब्रेन ट्यूमर भएको र उनको शल्यक्रिया गरिएको खबर सार्वजनिक भएसँगै नेपाली फिल्म उद्योगका कलाकार, शुभेच्छुक तथा दर्शकहरूले सामाजिक सञ्जालमार्फत दीपाश्री निरौलाको शीघ्र स्वास्थ्यलाभको कामना गरिरहेका छन् ।
Categorized in पेजथ्री




