arin enterprises

मुनासः ख्यालः कासामा ‘कयता तंम्ह नेवाः’ प्रथम

SamacharDesk – विजयरत्न | २०८३ आश्विन २२, बिहिबार

हालै काठमाडौंमा सम्पन्न उपत्यकाव्यापी नेपालभाषाको ख्यालः (प्रहसन) प्रतियोगीतामा नेपालभाषा सिनेमा विकास केन्द्रको ‘कयता तंम्ह नेवाः’ प्रथम भएको छ ।

केन्द्रले प्रथम पुरस्कारसँगै ५० हजार रुपैयाँको राशी पुरस्कारसमेत हात पारेको छ । यसै प्रहसनबाट निर्देशक आर्यम नकर्मीले उत्कृष्ट निर्देशक र गणेशराम लाछीले उत्कृष्ट लेखकको पुरस्कार जितेका छन् ।

प्रतियोगीतामा ख्वप सांस्कृतिक खलःको ‘थ्व छु जूगु?’ दोश्रो, थेच्व सांस्कृतिक मंका खलःको ‘इमर्जेन्सी श्राद्ध’ तेश्रो स्थानमा पर्यो भने प्रथमाञ्जली नासः खलःको ‘छन्त नं थथे याये यःला’ प्रहसनले सान्त्वना पुरस्कार जित्न सफल भयो ।

दोश्रो, तेश्रो र सान्त्वना पुरस्कार जितेका प्रहसनले क्रमशः ३० हजार रुपैयाँ, २० हजार रुपैयाँ र १० हजार रुपैयाँ राशी पुरस्कार पनि जितेको छ ।

उत्कृष्ट अभिनेताको पुरस्कार ‘छन्त नं थथे याये यःला’ बाट उमेश स्थापित र उत्कृष्ट अभिनेत्रीको पुरस्कार ‘ईमर्जेन्सी श्राद्ध’ बाट शान्ता महर्जनले हात पारिन् ।

उत्कृष्ट श्रृङ्गार ‘छन्त नं थथे याये यःला’बाट मीरा डंगोल र उत्कृष्ट मञ्च श्रृङ्गार ‘ह्विलचियरं कुतुंवःम्ह नेवाः’ बाट कविन महर्जनले जिते ।

साहित्यकार, नाट्य निर्देशक रमेशकाजी स्थापित संयोजक रहेको प्रतियोगीताको निर्णायक मण्डलमा जन संगीत स्रष्टा अमरराज शर्मा राजोपाध्याय, वरिष्ठ अभिनेता राजेन्द्र मान शाक्य, गणेश सायमि, साहित्यकार शम्भु राम श्रेष्ठ सदस्य रहेका थिए ।

मुनासःले गत मंगलवार र बुधवार काठमाडौंको नेपाल पुलिस क्लबमा प्रतियोगीताको आयोजना गरेको थियो ।

नेवाः कला, संस्कृति तथा हास्य–व्यङ्ग्य क्षेत्रमा ‘मुनासः’ले लामो इतिहास बोकेको छ ।

कुनै समयमा मुनासः ख्यालः कासा नेपालभाषाको नाट्य क्षेत्रमा निकै प्रतिष्ठित प्रतियोगीता थियो । करीब ५० वर्षको लामो अन्तराल पछि यस संस्थाबाट पुनः ‘ख्यालः कासा’ अर्थात् प्रहसन प्रतियोगिता आयोजना भएको हो । 

Categorized in पेजथ्री