गुह्येश्वरीमा पैदल यात्रुका लागि ट्रस पुल बन्दै
SamacharDesk – बिराज | २०८३ मङ्सिर ६, शनिबार
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं. ८ ले गुह्येश्वरीमा पैदल यात्रुका लागि ट्रस पुल निर्माण गर्ने भएको छ ।
वडाध्यक्ष साथै महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले शिलान्यास गरेका छन् ।
‘गुह्येश्वरी मन्दिरको सामुन्ने रहेको पुल जीर्ण बन्दै गएपछि गुह्येश्वरी क्षेत्रमा लाग्ने धार्मिक तथा सांस्कृतिक गतिविधिमा श्रद्धालुहरुलाई नदी पार गर्ने माध्यमको आवश्यकता देखिएको वडाध्यक्ष संगतले भने ।
‘पुल निर्माण भइसकेपछि पञ्चकन्या टोलका स्थानीयबासीलाई आवतजावत गर्न सहज हुनेछ । गुह्येश्वरी क्षेत्रमा हुने श्रद्धालुहरुको चाप व्यवस्थापन गर्न सहज हुनेछ ।’ वडाध्यक्ष संगतले भने ।
३० मिटर लामो पुलको चौडाइ २.२५ मिटर हुनेछ । यसमध्ये १.८ मिटर चौडाइ पैदल यात्राका लागि उपलब्ध हुनेछ । इञ्जिनियर शंकर विकका अनुसार ३.९ मिटर उचाइको अबुटमेन्ट फाउन्डेसनमा पुल निर्माण हुनेछ ।
सार्वजनिक खरिद प्रक्रियाबाट १ करोड १५ लाख रुपैयाँमा समुद्री कन्स्ट्रक्सनले निर्माणको जिम्मा पाएको छ । निर्माण कार्यका लागि गएको असोज १५ गते सम्झौता भएको थियो । सम्झौता अनुसार २०८४ असार मसान्तसम्ममा निर्माण कार्य सम्पन्न गर्नुपर्नेछ ।
Categorized in स्थानीय





