चलचित्र विकास बोर्डमा कार्यविधि मस्यौदा समितिको बैठक सम्पन्न
SamacharDesk – विजयरत्न | २०८३ मङ्सिर ६, शनिबार
चलचित्र विकास बोर्डमा हाल प्रचलनमा रहेका २१ वटा कार्यविधिहरूको समीक्षा तथा संशोधनका विषयमा छलफल भएको छ ।
चलचित्र विकास बोर्डका नव नियुक्त अध्यक्ष मनीष पण्डितको नियुक्ति पछि गठित कार्यविधि मस्यौदा समितिको बैठकमा यस्तो छलफल भएको हो ।
वैठकमा हाल प्रचलनमा रहेका अधिकांश कार्यविधिहरू पुरानो भइसकेको र वर्तमान समय, बदलिँदो आवश्यकता, नयाँ सोच र सरकारको नीतिअनुकूल बनाउन आवश्यक रहेकोमा अध्यक्ष पण्डितले जोड दिए ।
सोहीअनुसार आवश्यक संशोधन गरी दीर्घकालीन र प्रभावकारी कार्यविधि निर्माण गर्ने निर्णयसहित प्रक्रिया अघि बढाइएको बोर्डले जनाएको छ ।
त्यसैगरी, बोर्डका वार्षिक कार्यक्रम तथा नियमित सेवा प्रवाहलाई प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक नयाँ कार्यविधिहरू पनि तयार गरिने भएको छ ।
यसका साथै बोर्ड अन्तर्गत विभिन्न समिति विस्तार तथा गठन गर्ने प्रक्रिया पनि निरन्तर अघि बढिरहेको बोर्डले जानकारी दिएको छ ।
बोर्ड अनुसार हालसम्म ५० भन्दा बढी आवेदन प्राप्त भएका छन् । प्राप्त आवेदन तथा आवेदकहरूको योग्यता, अनुभव र सम्बन्धित क्षेत्रको योगदानलाई प्राथमिकतामा राखी समितिहरू विस्तार गरिनेछ ।
बोर्डका अध्यक्ष पण्डितको संयोजकत्वमा गठित समितिमा बोर्ड सदस्य गणेश सुवेदी, विज्ञका रुपमा चलचित्रकर्मी जनकदीप पराजुली र सदस्य–सचिवमा अधिकृत गिरीश शर्मासहित चार जना सदस्य रहेका छन् ।
Categorized in पेजथ्री





