arin enterprises

श्रीगणेश र श्रीभैरवको निवासस्थानको शिलान्यास सम्पन्न

SamacharDesk – बिराज | २०८३ मङ्सिर ६, शनिबार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले जीवित देवता श्रीगणेश र श्रीभैरवको निवासस्थान निर्माणका लागि भवनको शिलान्यास गरेको छ ।

आज (शनिवार) बसन्तपुर डवलीको दक्षिणतर्फ साविक जनआदर्श माध्यमिक विद्यालय भएको स्थानमा भवनको शिलान्यास गरिएको हो ।

महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको साथै वडा नम्बर १९, २०, २३ र २४ का वडाध्यक्षहरुले भवनको शिलान्यास गरेका थिए ।

निर्माणस्थलको ब्रम्हस्थानमा कामपाकी कार्यवाहक प्रमुख डंगोलले जगपूजा र शिलान्यास गरिन् ।

त्यस्तै निर्माणस्थलको इशान (उत्तर–पूर्व) कोणमा वडा नं. २४ का अध्यक्ष एवम् हनुमानढोका दरवार क्षेत्र संरक्षण कार्यक्रम  उपसमितिका संयोजक बिनोद कुमार राजभण्डारीले शिलान्यास गरे ।

आग्नेय (दक्षिण–पूर्व) कोणमा वडा नं. २३ का अध्यक्ष एवम् विधायन समितिका संयोजक मचाराजा महर्जनले, वायव्य (उत्तर–पश्चिम) कोणमा वडा नं. १९ का अध्यक्ष एवम् पूर्वाधार समितिका संयोजक राजेशकुमार श्रेष्ठले भवनको शिलान्यास गरे ।

नैऋृत्य (दक्षिण–पश्चिम) कोणमा वडा नं. २० का अध्यक्ष राजेन्द्र मानन्धरले जगपूजा र शिलान्यास गरेका थिए ।

हनुमानढोका दरबार संरक्षण कार्यक्रममार्फत कार्यान्वयन हुने भवन निर्माणका लागि ६ करोड ७ लाख ९५ हजार ५७ रुपियाँ लागत अनुमान गरिएको छ ।

भवन शिलान्यासपछि बोल्दै कार्यवाहक प्रमुख डंगोलले लामो प्रयास र मिहिनेतपछि ऐतिहासिक कामको प्रारम्भ भएको बताइन् ।

‘येँयाः (इन्द्रजात्रा) र जीवित देवी श्रीकुमारी, श्रीगणेश र श्रीभैरवको सम्बन्ध नङ र मासुजस्तै जोडिएको छ । यसअघि श्रीगणेश र श्रीभैरवका लागि छुट्टै निवास स्थान थिएन । अमूर्त संस्कारको निरन्तरता र पुस्तान्तरणका लागि श्रीनिवास गृह निर्माण थालेका हौँ ।’ कार्यवाहक प्रमुख डंगोलले भनिन् ।

यस स्थानमा रहेको विद्यालयलाई स्थानान्तरण गरेको जानकारी दिँदै डंगोलले अब यहाँ मौलिक स्वरुप र शैलीमा श्रीहरुको निवास गृह निर्माण हुने बताइन् ।

त्यस क्रममा वडा नं. २३ का अध्यक्ष महर्जनले आफ्नो ९ वर्षे कार्यकालमा भएका महत्वपूर्णमध्ये श्रीगणेश र श्रीभैरवको भवन निर्माणको थालनी प्रमुख एउटा भएको बताउनुभयो ।

वडा २३ का पूर्व वडाध्यक्ष पवित्र बज्राचार्यले आफू वडाध्यक्ष भएको बेला पारिवारिक जीवनमा रहेका श्रीहरुबाट संस्कारलाई निरन्तरता दिन नसक्ने दिन आएर अवकाश लिनुपर्ने अवस्था आएको सम्झिँदै अहिले कार्यवाहक प्रमुखको नेतृत्वमा श्रीहरुको भवन निर्माणको काम थालिएको ठुलो उपलब्धिको रुपमा व्याख्या गरे ।

श्रीगणेश र श्रीभैरवको निवासस्थानका लागि साढे ३ तलाको वास्तुकलात्मक भवन निर्माण हुनेछ ।

हनुमानढोका दरबार संरक्षण कार्यक्रमका आर्किटेक्ट अमित बज्राचार्यका अनुसार भवनका हरेक तला १३३८.७५ वर्गफिटको हुनेछ । भवन जम्मा ४ हजार १६ दशमलव २५ वर्गफिट क्षेत्रफलको हुनेछ ।

पराम्परागत नेवाः वास्तुकलामा आधारित भवन ईँट्टा, काठ, चुना, सुर्की जस्ता निर्माण सामग्रीको प्रयोगबाट बन्नेछ । भवनमा कलात्मक झिँगटीको छानो हुनेछ । भवनको भुइँतलामा सत्तल र भण्डार कक्ष हुनेछ ।

आर्किटेक्ट बज्राचार्यका अनुसार पहिलो तलामा जीवित देवताहरुको दर्शन कक्ष र निवास कक्ष हुनेछ । दोस्रो तलामा भान्छा, शयन कक्ष लगायत स्थान हुनेछ ।

शिक्षा विभागका प्रमुख नमराज ढकालका अनुसार यस ठाउँमा भएको नवआदर्श स्कूललाई वडा नं. २३ मै रहेको बाल सेवा मा. वि. मा स्थानान्तरण गरिएको छ ।

Categorized in स्थानीय