arin enterprises

गीतकार चाम्लिङको निधन

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८३ मङ्सिर ७, आइतबार

गीतकार तथा कवि टीका चाम्लिङको निधन भएको छ ।

नेपाली गीत, कविता र संस्कृतिको क्षेत्रमा साढे तीन दशकभन्दा लामो समय योगदान पुर्याएका चाम्लिङको ५३ वर्षको उमेरमा क्यान्सर रोगका कारणले निधन भएको हो ।

पारिवारिक श्रोतका अनुसार उनको शव खोटाङ लगेर उतै दाह संस्कार गरिँदैछ ।

खोटाङको तत्कालीन नुनथला गाविस–५, खाम्लामा २०३० माघ ४ गते जन्मिएका चाम्लिङको वास्तविक नाम टीकाराम राई हो ।

उनको सपनाको रङ (२०६०), समयको रङ (२०६४), जूनको बस्ती (२०६८) र मुन्दुम र मालिङ्गो (२०७१) गीतिसंग्रह तथा बागी कविता (२०८०) लगायतका कृति प्रकाशित छन् ।

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको प्रतिभा पुरस्कार (२०७३), खेमराज गुरुङ प्रतिभा पुरस्कार (२०८१) जस्ता विविध सम्मानबाट उनी सम्मानित स्रष्टा छन् ।

उनलाई विशेष गरेर पूर्णकालीन कवि, गीतकार तथा संस्कृतिकर्मीका रूपमा चिनिन्छ । चाम्लिङका दुई सयभन्दा बढी गीत विभिन्न चर्चित गायक–गायिकाको स्वरमा रेकर्ड भएका छन् ।

स्वर्गीय चाम्लिङ नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको प्राज्ञसभा सदस्यका रूपमा पनि आबद्ध थिए । जाउँ सङ्गी गाउँघरैमा, आलु तामाले उनका चर्चित गीत हुन् ।

Categorized in पेजथ्री