घटनाको ३७ वर्षपछि फरार प्रतिवादी पक्राउ
SamacharDesk – क्राइम ब्यूराे | २०७८ फाल्गुण ४, बुधबार

कर्तव्य ज्यान मुद्दाका एक फरार प्रतिवादी ३७ वर्षपछि पक्राउ परेका छन् ।
ललितपुर गोदाबरी नगरपालिका–१० सल्यानगाउँ ठेगाना भएका ५६ वर्षीय सुन बहादुर तामाङलाई घटनाको ३७ वर्षपछि बुधबार प्रहरीले पक्राउ गरेको हो ।
तामाङलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो ।
तामाङले २०४१ चैत्र १२ गते ललितपुर साविक चापागाउँ गाबिस–८ सल्यानगाउँ बस्ने घटेरो कान्छो भन्ने गणेश बहादुर नगरकोटीलाई कुटपिट गर्दा मृत्यु भएको बताइएको छ ।
घटनापश्चात उनी फरार रहँदै आएका थिए । तामाङ उपर कर्तब्य ज्यान मुद्दामा ललितपुर जिल्ला अदालतले २०४४ जेठ ५ गते साविक मुलुकी ऐन, अदालती वन्दोवस्तको महल १९० नम्बर बमोजिम मुद्दा मुल्तवीमा रहने गरी फैसला भएको थियो ।
उनलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत ललितपुरमा पेस गरिएको ब्यूरोले जनाएको छ ।
Categorized in अपराध