arin enterprises

नयाँ नक्साको समर्थनमा स्थानीय युवाहरुको प्रदर्शन

SamacharDesk – राजेश बज्राचार्य | २०७७ जेठ २८, बुधबार

गुमेको लिम्पियाधुरासहित नेपालको नयाँ नक्सा संशोधित संविधानमा पाएको उपलक्ष्यमा ललितपुरका स्थानीय युवाहरुले पाटन दरबार क्षेत्रमा दीप प्रज्वलन गरेका छन ।

नयाँ नक्सा जारी गर्ने सरकारको कदमको समर्थन गर्दै स्थानीय यूवाहरुले दियोबाटै नेपालको नयाँ नक्सा बनाई दिप प्रज्वलन गरेका हुन् ।

सरकारको सही कदमलाई स्वागत गर्न साथीहरुबीच सल्लाह लगत्तै स्वस्फुर्त रूपमा तत्कालिक योजना सफल भएको स्थानीय पृथबिन्दु महर्जनले बताए । 

सहभागी युवाहरुले अतिक्रमित भूमि समेटेर नक्सा जारी गर्नु सरकारको ऐतिहासिक कदम भएकोमा आफ्नो समर्थन रहेको धारणा व्यक्त गरे ।

युवाको उमङ्गमा साथ दिन नेकपा ललितपुर जिल्ला सभापति हरिकृष्ण ब्यन्जनकार सहित १२ वडाका अध्यक्ष नारायण लाल अवाले, १६ वडा सदस्य सुप्रभा शाक्य लगायतका केही जनप्रतिनिधी समेतले कार्यक्रममा सहभागीता जनाएको थिए ।

युवाहरुबीच दीप प्रज्वलनको शुभारम्भ गरेका नेकपा जिल्ला सभापति ब्यन्जनकारले भारतीय बिस्तारवादले आफ्नो कब्जामा राख्न खोजेको नेपाली भूमीलाई नेपाली एकताले आधिकारिक नक्सामा संसदको सर्वसम्मतिले पारित भएको बताउँदै उक्त भूभागलाई कुनै पनि हालतमा प्राप्त गराइछाड्ने प्रण दोहोर्याएका छन ।

मुलुकको नयाँ नक्साअनुसार संविधानको अनूसूची अद्यावधिक गर्न सरकारले पेस गरेको संविधान संशोधन विधेयकमा भारतिय बिस्तारवादीले अतिक्रमण गरेका लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्सा जारी गरेपछि सरकारले संविधानमा रहेको निसान छाप सच्याउन जेठ ९ मा विधेयक दर्ता गरेको थियो । 

संशोधन विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव मंगलबारको प्रतिनिधिसभा बैठकले सर्वसम्मत स्वीकृत गरेको थियो । 

विधेयकमाथिको सैद्धान्तिक छलफलमा रहेका ८४ जना सांसदहरूले मुलुकको स्वाधीनता, राष्ट्रियता र भौगोलिक अखण्डताका पक्षमा एक भएर उभिने भन्दै समर्थन जनाएका थिए । 

उनीहरूले भारतसँग राजनीतिक र कूटनीतिक वार्ताको तयारी गर्न ध्यानाकर्षण पनि गराएका थिए ।

Categorized in समाज