‘सिप भएर घरमा बसेका महिलालाई उद्यमी बनाउँछौँ’– उपप्रमुख डंगोल
SamacharDesk – बिराज | २०८२ मङ्सिर ५, शुक्रबार
काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले महानगरपालिकामा बसोबास गर्ने हातमा केही न केही सिप भएका महिलाहरुले अब खाली बस्नु नपर्ने बताएकी छन् ।
बिहीबार महानगरपालिकाको सभा कक्षमा सामाजिक विकास विभागबाट आयोजित महिला समूह, समित र सशक्तिकरण विषयक अन्तरक्रियामा महानगरपालिका उपप्रमुख डंगालले यसका लागि महिला उद्यमशीलता सम्बन्धी नीतिगत प्रबन्ध गरिने बताएकी हुन् ।
उद्यमशीलतासँग सम्बन्धित एक वडा एक नमूना कार्यक्रमले नतिजा प्रदान गर्न थालेको बताउँदै डंगोलले महिला समूहहरुलाई पनि उद्यमी बनाउने आफ्नो लक्ष्य रहेको बताइन् ।
‘घरमै बसे पनि कसैलाई मिठो खाना बनाउन आउँछ । कसैलाई कपडा सिलाउन, कसैलाई सजावटका सामान बनाउन आउँछ । यो भनेको आय प्रदान गर्ने सिप हो । मैले के जानेको छु र भनेर नबस्नु’ डंगोलको भनाई हो ।
महानगरपालिकामा सामाजिक विकास विभागले २०७५ सालदेखि महिला विकास समूह र समितिको गठन थालेको हो । २०७८ सालमा सबै वडामा समुह गठन भइसकेका छन् ।
अहिले महानगरपालिकाभित्र ३५ वटा महिला विकास समिति छन् । यी समिति अन्तर्गत ५/५ जना रहेका अरु ६ सय वटा समूह छन् ।
समूहका सदस्यहरुले आपसी सल्लाह गरेर महिनाको निश्चित पैसा जम्मा गर्ने गरेका छन् । यसरी जम्मा गर्नेको रकम हेर्दा थोरैमा १ सय रुपियाँदेखि ५ सय रुपियाँसम्म जम्मा भएको देखिन्छ । यसरी जम्मा भएको पैसा हरेक २ वर्षमा व्याज सहित फिर्ता हुन्छ ।
महानगर भित्रका समूहमा अहिले ३ हजार १ जना सदस्य छन् । समूहहरुको हरेक महिना बैठक बस्ने गरेको छ । सामाजिक क्रियाकलाप तथा सिपमुलक तालिमबाट उनीहरु आय आर्जन समेत गर्छन् ।
कार्यक्रममा सहभागी महिलाहरुले महानगरपालिकाले सहयोग गरेको अवस्थामा आफूहरु व्यवसाय दर्ता नै गरेर उद्यम सञ्चालन गर्न सक्षम भएको बताइन् ।
‘भाँडा माझ्ने साबुन, सरफ, हर्पिक, फिनेल जस्ता सामान किन्नै नपर्ने भएको छ । आफैँ उत्पादन गर्छौँ । हामी अन्य समितिमा गएर पनि अनुभव आदान प्रदान गर्छौँ । यसबाट हामी त उत्साहित छौँ’ कार्यक्रमका सहभागीहरुले आफ्नो अनुभूति सुनाए ।
Categorized in स्थानीय




