arin enterprises

प्रधानमन्त्रीमा ओलीको नियुक्ति गैरसंवधानिक – देउवा

SamacharDesk – बिराज | २०७८ जेठ ८, शनिबार

मन्त्रीपरिषद्को सिफारीसमा राष्ट्रपतिले मध्यरातमा संसद विघटन गरेपछि सत्तारुढ दलले यसको पक्षमा पैरवी गरिरहेका छन् भने विपक्षी दलबाट भने विरोध शुरु भएको छ ।

यसै सन्दर्भमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले गैर संवैधानिक ढङ्गले राष्ट्रपतिले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेको भन्दै भत्सर्ना गरेको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवाले प्र्रेस विज्ञप्ती जारी गर्दै गैर संवैधानिक दावीलाई स्वीकार गरी राष्ट्रपतिले उनैलाई प्रधानमन्त्री तोक्ने कार्य असंवैधानिक मात्र नभई अनैतिक समेत रहेको दावी गरे ।

‘राष्ट्रपतिले २४ घण्टाको पनि समय नदिइ प्रधानमन्त्री नियुक्तिको आह्वान गर्ने, संविधान बमोजिम नियुक्त गर्नुपर्ने म प्रतिनिधि सभाका सदस्यलाई नियुक्त गर्नुपर्ने र दावी नै गर्न नमिल्ने माननीय ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने कार्य घोर असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी कार्य हुन्’ विज्ञप्तीमा लेखिएको छ ।

प्रधानमन्त्री नियुक्त भएको एक घण्टामा सबै जनता सुतेको बेला मध्यरातमा प्रतिनिधि सभा विघटन भएबाट राष्ट्रपति र प्रधानमन्त्रीको बदनियतपूर्ण ढंगले मिलेमतोमा षड्यन्त्र प्रमाणित भएको दावीसमेत देउवाले गरेका छन् ।

राष्ट्रपति र प्रधानमन्त्री षड्यन्त्र गरी पदको चरम दुरुपयोग गरी नेपालको संविधान समाप्त पार्न उद्दत रहेको ठहर काँग्रेसको रहेको छ । 

Categorized in राजनीति