धरहरा गणतन्त्र दिवसदेखि सर्वसाधारणका लागि खुल्ला हुने
SamacharDesk | २०८१ भाद्र २०, बिहिबार

आउने असोज ३ गतेदेखि सर्वसाधारणले धरहरा चढेर काठमाडौंको दृष्यावलोकन गर्न पाउने भएका छन् । शहरी विकास मन्त्रालयले असोज ३ देखि सर्वसाधारणका लागि धरहरा प्रवेश खुला गर्न लागेको हो ।
२०७२ सालको भूकम्पले ढालेको धरहराको पुनर्निर्माण सम्पन्न हुने अवस्थामा पुगेकोले असोज ३ गते गणतन्त्र दिवसको अवसरमा सर्वसाधारणलाई खुल्ला गर्न लागिएको हो ।
तीन वर्षअघि नै ०७८ सालको बैशाख ११ गते नै प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेको भए पनि धरहराको बल्ल पूर्ण रुपमा निर्माण सम्पन्न हुने अवस्थामा पुगेको हो ।
धरहरालाई ऐतिहासिक सम्पदा भए पनि पछिल्लो पटक पुनर्निर्माण गर्दा धरहरालाई बहुउपयोगी आधुनिक भवनको रूप दिइएको छ । धरहराको तीन तलासम्म सवारी पार्किङस्थल छ । जसमध्ये पहिलो एक तला सर्वसाधारणका लागि पार्किङ गर्न खुला गरिएको छ ।
पुरानो धरहराले ओगटेको क्षेत्र विस्तार गरी गोस्वारा हुलाक, टक्सार विभाग, नेपाल बैंक र सुन्धारा रहेको क्षेत्रलाई पनि एकीकृत रूपमा विकास गरिएको छ ।
अघिल्लो पटक निर्माण सम्पन्न नभएका पनि उद्घाटन गरेका ओली सरकारले अहिले फरि ओली प्रधानमन्त्री बनेपछि धरहरा निर्माणमा ताकेता गरेका कारण थपिएको अवधि अगावै सम्पन्न हुने बताइएको छ ।
Categorized in राष्ट्रिय