arin enterprises

पाटन दरवार भित्रको नासल चोकको लथालिंग अवस्था

SamacharDesk – शिवेश शर्मा | २०७७ जेठ २६, सोमबार

काठमाडौं सहरबाट करिब ५ किलोमिटर दक्षिण पूर्वमा पाटन दरवार क्षेत्र छ । यस सहरको मुटुमा अवस्थित यस क्षेत्र कलात्मक सम्पदाहरूले भरिपूर्ण छ । 

विश्व सम्पदामा सुचीकृत ललितपुर दरवार क्षेत्रमा मुख्य गरी चारवटा चोक रहेका छन् । जसमध्ये एउटा नासल चोक  पनि हो ।

मूलचोक र केशव नारायण चोक पछिको सबैभन्दा ठूलो चोक हो नास चोक ।

यस चोकमा प्रवेश गर्नका लागि पाटन संग्रहालय र देगु तलेजु बीचको प्रस्तरको कलात्मक ढोकाबाट प्रवेश गरी भर्याङ्ग चढी देगु तलेजुको भित्र अध्याँरो बाटोबाट जानुपर्दछ । 

भित्र जानेबित्तिकै दायाँमा कार्तिक नाच संरक्षण समितिको कार्यालय छ । त्यतातिर नगई बायाँ जाँदा माथि जाने भर्याङ्ग छ र भर्याङ्गको अगाडि एउटा ढोका छ । 

नासःद्यः स्थापना गरिएको चोक भएकै कारणले यस चोकको नाम नासः चोक वा नासल चोक रहन गएको हो

भर्यांग अगाडि रहेको त्यसढोकाबाट छिरेपछि देगु तलेजु मुनिको दलानमा पुगिन्छ । दलान अगाडि रहेको खुड्किलो झरेर ऐतिाहसिक नासल चोक पुगिन्छ । 

यस चोकको ऐतिहासिक, पुरातात्विक र साँस्कृतिक महत्व समेत रहेको छ । कार्तिक नाचका लागि पूजा गरिनुपर्ने नृत्यनाथ अथवा नाट्येश्वर यहि नासल चोकमा स्थापना गरिएको छ । 

यस देवतालाई स्थानीय नेपालभाषामा नासःद्यः भनिन्छ । नासःद्यः स्थापना गरिएको चोक भएकै कारणले यस चोकको नाम नासः चोक वा नासल चोक रहन गएको हो ।

यहि चोकमा कार्तिक नाचको लागि नृत्य र वाद्यवादनको अभ्यास गर्ने गरिन्छ । 

हाल यस नासः चोकको हेरचाहको सवालमा यहाँको सरसफाइको काम कार्तिक नाच संरक्षण समितिले गर्दै आएको छ भने काठमाण्डौँ उपत्यका संरक्षण कोषबाट पानी तान्ने आदि काम गर्दै आएको थियो ।

विगतमा यहाँ यहाँ मंगल टोल सुधार संघबाट एउटा परियोजना अन्तर्गत पर्यटक सौचालयको व्यवस्था पनि गरिएको थियो । पछि ढलको व्यवस्थापन राम्ररी नहुँदा रोकिएको थियो।

यो नासः चोकको महत्व ठुलो छ । यो चोकसँग धेरै समूहहरु जोडिएको छन् । यहाँ विभिन्न कालखण्डमा विभिन्न परियोजनाहरु पनि आए होलान् । तर हालसम्म पनि नासः चोकमा ढलको व्यवस्था निकै नाजुक छ । 

उपत्यका संरक्षण कोषका रोहित रंजितकारले देगु तलेजु जीर्णोद्धार गरिँदा ढलको समस्या पनि समाधान गरिने जानकारी दिए । 

यस्तो महत्वपूर्ण र नासःद्यःस्थापना गरिएको चोकमा ढल फुटेर दुर्गन्ध फैलिनु पनि एउटा विडम्वना नै हो । 

लकडाउनको दौरान सौचालय आउनेहरू कम भएकाले ढलको समस्या भने केही न्यून त भएको छ तर सरसफाई नहुँदा फोटोमा वा टाढाबाट हेर्दा यो चोक घाँसे मैदानमा परिणत भएको देखिन्छ ।

लकडाउनको अवस्थामा सबै आउन सक्दैनन्, सरसफाईको लागि पर्याप्त जनशक्ति नहुँदा अहिले यस्तो अवस्था भएको हो

अरू बेला प्रायः कार्तिक नाच संरक्षण समितिबाट सरसफाई हुने गथ्र्यो । बेलाबखत संरक्षण कोषबाट पनि कामदार खटाई सरसफाई भएको थियो । तर पछिल्लो समय यहाँ कुनै पक्षबाट ध्यान दिएको देखिन्न ।

कार्तिक नाच संरक्षण समितिका कोषाध्यक्ष उत्तमरत्न शाक्यले अहिले लकडाउनको अवस्थामा जनशक्ति अपुग भएर सरसफाई गर्न नसकिएको बताउनुभयो ।

‘यो चोकको सरसफाई समितिले गर्दै आएको नै हो तर अहिले लकडाउनको अवस्थामा सबै आउन सक्दैनन्, सरसफाईको लागि पर्याप्त जनशक्ति नहुँदा अहिले यस्तो अवस्था भएको हो’ शाक्यले भन्नुभयो ।

त्यस्तै टोल सुधार समितिका सदस्य रविन कपालीले देगु तलेजुमा बसिरहेकाले सफा गर्न सकिने उपाय सुझाउनुभयो ।

‘कसले गर्ने वा कसले गर्नुपर्ने भनेर बसिरहनु पर्दैन नि । हाम्रै सम्पदा हो । देगु तलेजुमा बसिरहेकाले सफा गर्दिए चोकको यस्तो अवस्था हुन्नथ्यो’ कपालीको भनाई हो ।

यस बाहेकका केशब नारायण चोक, मूलचोक र सुन्दरी चोकको हेरचाह भने संग्रहालयले गर्दै आएको छ । 

हाल सुन्दरी चोक सिल्ड छ । बाँकिका २ ठूला चोकहरूको अवस्था पनि नासः चोकको जस्तो दयनिय छैन ।

यस्ता चोकहरु पनि नेपालको सम्पदा हो । यसको संरक्षणमा आवश्यक पहल गरिनु आवश्यक छ ।

Categorized in संस्कृति