arin enterprises

मानसिक स्वास्थ्य समस्या समाधान गर्न विज्ञहरुसँग छलफल

SamacharDesk – बिराज | २०८३ बैशाख १३, आइतबार

मानसिक स्वास्थ्यमा बढ्दै गएको समस्या पहिचान, जोखिम न्यूनीकरण, निदान तथा उपचारका लागि महानगरपालिकाले विज्ञ तथा क्षेत्रगत प्रतिनिधिसँग छलफल गरेको छ ।

छलफलमा कामपाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, व्यक्ति र परिवारमा सानासाना कुराले पनि ठुलो पिरालो गरेको बताउँदै यही पिरोलोका कारण व्यक्तिहरु मानसिक समस्यामा रहेको तथ्यमा चर्चा गरिन् ।

‘शारीरिक रुपमा देखिएको रोगलाई सबैले स्वीकार गरेर उपचार गराउने तर, मानसिक रोगलाई स्वीकार नगरी रोग भएको व्यक्ति झन् पीडित भएर बस्नु पर्ने अवस्थामा सुधारका लागि मिलेर काम गरौँ ।’ कार्यवाहक प्रमुख डंगोलको भनाई हो ।

त्यस्तै स्वास्थ्य विभागका प्रमुख दिपककुमार के. सी. ले विज्ञ, अनुसन्धाता, प्राज्ञिक र व्यवस्थापनका क्षेत्रमा काम गर्ने व्यक्तित्वहरुबाट पृष्ठपोषण लिएर मानसिक स्वास्थ्य सुधारका काम गर्ने बताए ।

वैठकमा प्रा.डा. रवि शाक्य, डा. सुरज प्रधान, डा. ऋषभ कोइराला, पिताम्बर कोइराला, रमेश खड्का, श्रेया गिरी, प्रमिला वस्ती, मातृका देवकोटासहित क्षेत्रगत विशेषज्ञले धारणा राखेका थिए ।

वैठकमा विद्यालय उमेरका बालबालिकामा मानसिक समस्याका विषयमा छलफल गर्दै शिक्षा र जानकारीको अभावमा मानसिक स्वास्थ्य पहिचानका लागि सबैभन्दा ठुलो चुनौती रहेको बताइयो ।

विद्यालय उमेरका बालबालिकामा मानसिक स्वास्थ्यको अवस्था अध्ययन गर्न महानगरपालिकाले गएको वर्ष (२०८२) जेठ २७ गते विद्यालय उमेरका १३४ जना विद्यार्थीहरुमा सर्वेक्षण गरेको थियो ।

यसमध्ये ७१ जना अर्थात् ५२ दशमलव ९९ प्रतिशत बालबालिकाले सामान्य भएको, खुशी नै रहेको प्रतिक्रिया दिएका थिए । २९ जना अर्थात् २१ दशमलव ६४ जनाले भावनात्मक लक्षण देखाए ।

१८ जना अर्थात् १३ दशमलव ४३ जनाले मध्यमदेखि उच्च व्यक्तिगत संघर्षका कुरा सुनाए । १६ जना अर्थात् ११ दशमलव ९४ प्रतिशत विद्यार्थीले परिवार सम्बन्धित समस्या सुनाए ।

मानसिक स्वास्थ्य सुधारका लागि विद्यालय स्तरको पाठ्यक्रममा मानसिक स्वास्थ्य सम्बन्धी ज्ञान समावेश गर्नुपर्ने सुझाव विज्ञहरुले दिएका छन् ।

बारम्बार निराश हुनु, आफू फन्दामा परेको ठान्नु, मादक पदार्थ र लागू औषधको सेवन बढ्नु, छट्पटी र व्याकुलता बढ्नु, निद्रामा गडवडी हुनु, कसैसँगको भेट वा सामाजिक सञ्जालमा निराशाका कुरा लेख्नु मानसिक स्वास्थ्यमा खरावी आउँदाका लक्षण हुन् ।

त्यस्तै चाँडो रिसाउनु, हेलचेक्र्याइँ पूर्ण व्यवहार गर्नु, मेरो भविष्य केही छैन भन्नु, आफ्ना सामान अरुलाई जथाभावी बाँड्नु, भोज भतेर वा भेटघाटमा रुचि नहुनु, साथीभाइ र परिवारसँग टाढिनु पनि मानसिक स्वास्थ्यमा खराबीका लक्षण हुन् ।

सन् २०२२ मा विश्व स्वास्थ्य संगठनले जारी गरेको प्रतिवेदन अनुसार हरेक ८ जनामध्ये १ जना व्यक्तिमा मानसिक समस्या छ ।

यस्तै समस्यासँग जोडिएको आत्महत्याको समस्या पनि नेपालमा बढ्दो क्रममा छ । नेपाल प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष (सन्) २०२३÷०२४ मा नेपालभरि ७ हजार ३९९ व्यक्तिले आत्महत्या गरे ।

यो संख्या अघिल्लो वर्ष (२०२२/२३) मा ६ हजार ९९३ थियो । यो मानसिक स्वास्थ्यले निम्त्याएको मानवीय क्षति हो ।

Categorized in स्थानीय