arin enterprises

डोटीमा शक्तिशाली भूकम्पबाट ६ को मृत्यु

SamacharDesk | २०७९ कार्तिक २३, बुधबार

डोटी केन्द्रविन्दू भएर गएराती गएको शक्तिशाली भूकम्पबाट ६ जनाको मृत्यु भएको छ । पूर्वचौकी गाउँपालिकाको वडा नम्बर ३ मा एकै परिवारका तीनसहित ६ जनाको मृत्यु भएको छ ।

डोटी जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेहरुमा ठाडा गाउँकी ३८ वर्षीया भगवती बोहरा, उनकी १३ वर्षीया छोरी सीता बोहरा र ७ वर्षीय छोरा हर्क बोहरा रहेका छन् ।

यस्तै सोही गाउँका ४५ वर्षीय प्रेम बोहरा, उनकी १२ वर्षीया छोरी तुलसी बोहरा र बोहराकै घरमा सुतेकी महाविर बोहराकी १७ वर्षीया छोरी धनसरी बोहोराको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी भोलाप्रसाद भट्टले जानकारी दिनुभयो ।

भूकम्पबाट सोही वडामा पाँच जना र अन्यत्र गरी कम्तिमा एक दर्जन ब्यक्ति घाइते भएको पनि प्रहरीले जनाएको छ । घाइते हुनेहरुमा ४५ वर्षीय महाविर बोहरा, ४० वर्षीय इन्नरी बोहरा, ४५ वर्षीया बिस्नादेवी बोहरा, ४६ वर्षीय चनादेवी बोहरा र ११ वर्षीया धौली बोहरा छन् । उनीहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

भूकम्पले ठाडागाउँका ८ वटा घर भत्काएको छ । जिल्लाका अन्य स्थानमा पनि भौतिक क्षति भए पनि मानवीय क्षतिको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ । प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, जनप्रतिनिधि लगायत उद्धारमा खटिएका छन् ।

घरका भग्नावशेष पन्छाउने र प्रभावितहरुको व्यवस्थापन गर्ने काममा नेपाली सेनाको भैरवप्रसाद गण डोटी लगायतको टोली खटिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार साँझ ९ बजेर ७ मिनेटमा डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु बनाएर ५ दशमलव ७ म्याग्नीच्यूडको भूकम्प गएका थियो ।

नौ बजेर ५६ मिनेट जाँदा पुनः ४ दशमलव १ म्गाग्नेच्युडको भूकम्प गएको थियो । राति २ बजेर १२ मिनेटमा फेरि खप्तड राष्ट्रिय निकुञ्ज नै केन्द्रबिन्दु बनाएर ६ दशमलव ६ म्याग्निच्यूडको भूकम्प गएको हो ।

रातीको भूकम्पले मानवीय क्षति गराएको हो । पटक पटकको भूकम्पले त्यस क्षेत्रमा जनजीवन त्रसित बनेको छ ।

Categorized in राष्ट्रिय