arin enterprises

सिटी र लिभरपुलबीचको खेल बराबरीमा

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ चैत्र २८, सोमबार

 इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी र लिभरपुलबीचको खेल बराबरीमा सकिएको छ ।

उपाधिका दाबेदार दुई शीर्ष टोली सिटी र लिभरपुलले २–२ गोलको रोमाञ्चक बराबरी खेलेको हो ।

गयराति भएको खेलमा सिटीले लिएको दुई पटक अग्रतालाई जोगाउन नसक्दा बराबरीमा अंक बाँड्डै चित्त बुझाउनु पर्‍यो ।

सिटि अफ म्यानचेस्टर स्टेडियममा खेलको पाँचौ मिनेटमा कप्टान केभिन डि ब्रुयनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । उनलाई  बर्नाडो सिल्भाले पास उपलब्द गराएको थियो ।

त्यसको ८ मिनेटपछि अर्थात १३औँ मिनेटमा ट्रेन्ट एलेक्सान्डर आर्नोल्डको पासमा डिएगो जोटाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

गाब्रियल जेससले ३६ औं मिनेटमा गोल गरेर्दै सिटीलाई पहिलो हाफमा २–१ को अग्रता दिलाए ।

दोस्रो हाफको शुरूमै ४६ औं मिनेटमा लिभरपुलको लागि साडियो मानेले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए।

त्यसपछि खेलमा थप गोल निस्कन नसक्दा बराबरीमा सकियो । यो बराबरीसँगै दुवै टोलीको उपाधि जित्ने सम्भावना कायमै रहेको छ।

शीर्षस्थानको सिटीको ३१ खेलबाट ७४ तथा समान खेलबाटै लिभरपुलको ७३ अंक छ । 

Categorized in स्पाेर्ट्स