arin enterprises

महामारीका बीच साधारण ढङ्गले मनाईयो गथांमुगः

SamacharDesk – शिवेश शर्मा | २०७७ श्रावण ४, आइतबार

आज श्रावण कृष्ण पक्ष चतुर्दशी । आजको दिन नेवार समुदाय गथांमुगः मनाउने गर्छन् । हरेक वर्ष धुमधामका साथ मनाईने यो पर्व यस वर्ष कोरोना महामारीका बीच भने साधारण किसिमले औपचारिकता पूरा गर्दै मनाइएको छ ।

यो दिनलाई घण्टाकर्ण चतुर्दशी पनि भन्ने गरिएतापनि नेवार समाजले भने यो शब्दलाई स्वीकारेका छैनन् । गथांमुगः र घन्टाकर्ण एउटै नभएको भन्दै नेवाः समाजले यसलाई घन्टाकर्ण भन्न नमिल्ने बताउँदै आएका छन् ।

आजको दिन चोकचोकमा हरियो नर्कट, छ्वालि, काँस, निगालो आदिको तीन खुट्टे राक्षसको आकृति बनाई दिनभरि दोबाटो वा चौबाटोमा राखिन्छ । बेलुकी सबै टोलबासी मिलेर त्यो गथांमुगःलाई नगर बाहिर खोला छेउमा सेलाउन लग्छन् ।

आज साँझमा घर चोख्याइसकेपछि विशेषरूपले शिव पार्वतीको पुत्र कुमार अर्थात् कार्तिकेयको पूजा आराधना गरिन्छ । 

यसै दिन आफ्नो कुल वा दीक्षा परम्परा अनुसार अर्धनारीक्षर, आगम देवता तथा भैरवको पनि पूजा–उपासना गर्ने विधान छ ।

 

साधारण ढङ्गले मनाईयो गथांमुगः

विश्वभरी फैलँदो कोरोना संक्रमणको चपेटामा नेपालमा परिरहेको अहिलेको परिवेशमा संक्रमण नफैलियोस् भन्ने हेतुले यसपालि भीडभाड नगर्नेतर्फ सचेतता अपनाउँदै पर्वलाई निरन्तरता दिइयो ।

भक्तपुर नगरपालिकाले त नगर भित्र गथांमुगः बनाएर हुलमूल नगर्न सार्वजनिक सूचना नै जारी गरेको थियो । 

तर पनि केही स्थानहरुमा केही हुलमूल पनि देखियो भने कतिपय स्थानहरुमा हुलमूल हुनेतर्फ सचेतता अपनाइएको पाइएको छ ।

केहीले गथांमुगःलाई नगर बाहिर नै सेलाउन लगे भने प्रायले नगरको चोक अथवा गल्लीमै गथांमुगः बाले ।

 

गथांमुगःको सामाजिक महत्व र मान्यता

काठमाडौं उपत्यकाका नेवार समुदायले यस पर्वलाई घर आँगन सफा सुघर गर्ने पर्वका रुपले लिने गरेका छन् । 

यो पर्व रोपाईँ सम्पन्न हुने समयमा पर्न आउँछ । रोपाईँको समयमा किसानहरु दिनरात खेतीपातीमा जुटेका हुन्छन् र सफाईमा ध्यान दिन पाउँदैनन् ।

यति मात्र होइन, रोपाईँको समयमा घरमा कसैको मृत्यु हुँदा अन्तिम सँस्कार गर्ने सम्मको पनि समय हुँदैन र शवलाई घरको छिँडिमै सुकुलमा बेरेर राखी रोपाईँ सकेपछि मात्र अन्त्येष्टि गरिन्थ्यो रे ।

यस्तो अवस्थामा खेतमा भएका किटाणुहरु घर पुग्ने मात्र होइन, शवबाट संक्रमण हुनसक्ने सम्भावना पनि रहन्छ ।

यस्तो अवस्थामा घरमा भएका सम्पूर्ण अपवित्र तत्वहरु जस्तै भूत, प्रेत, पिशाच आदिको साथमा उपियाँ, उडुस आदिसहित रोगव्याधिको प्रतीकको रुपमा गथांमुगः फाल्ने गरिन्छ ।

यसको साथै खेतीपाति निकै गार्हो काम भएको र मान्छेमात्रले यो काम सम्पन्न गर्न गार्हो हुने भएकोले रोपाईँको लागि किसानहरुले भूतको सहयोग लिने र रोपाईँपछि सो भुतलाई नगरबाट बाहिर पठाइएको मान्यता पनि समाजमा छ ।

 

तन्त्र विद्या सिक्नेका लागि उत्तम दिन

तन्त्रको साथमा कालो विद्या सिक्नेहरुका लागि अति उत्तम दिनका रुपमा पनि गथांमुगःलाई लिइन्छ । 

यो दिनमा शक्ति साधकहरु सिद्धि प्राप्त गर्न घाटमा गई साधना गर्ने गर्दछन् । 

शक्ति साधकले सिद्धि प्राप्त गर्न बलि समेत दिने कथन रहेको छ । बोक्सी विद्याको साधना गरिरहेकी महिलाले आफ्नो पतिको नै बलि दिएको किम्वदन्ति अहिले पनि समाजमा सुन्न पाइन्छ ।

यसको साथै नास्तिक घन्टाकर्णले समाजलाई विभिन्न प्रकारले दुःख दिने गरेको र एक तान्त्रिकले भ्यागुतोको रुप लिइ घन्टाकर्णलाई दलदलमा फसाईँ मारिदिएको कथन पनि समाजमा रहेको छ ।

Categorized in संस्कृति