arin enterprises

आयोगले खर्च विवरण नबुझाउनेलाई कारबाही गर्ने

SamacharDesk | २०८० श्रावण ९, मंगलबार

निर्वाचन आयोगले निर्वाचनको खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदवारलाई कारबाहीको तयारी गरेको छ ।

गत वर्ष भएको प्रतिनिधिसभा र प्रदेशसभाको लागि भएको निर्वाचनमा खर्च विवरण सार्वजनिक नगर्नेहरुलाई आयोगले कारबाही थालेको हो ।

प्रतिनिधिसभातर्फ १ हजार ३७ जना र प्रदेशसभातर्फ १ हजार ३ सय ९८ जना उम्मेदवारलाई खर्च विवरण नबुझाएको भन्दै आयोगले कारबाही गर्न लागेको हो ।

प्रतिनिधिसभा र प्रदेशसभातर्फ गरी जम्मा २ हजार ४ सय ३५ जनालाई आयोगले १५÷१५ हजारका दरले जरिवाना तिर्न निर्देशन दिएको छ ।

साथै सात दिनभित्र खर्च विवरण बुझाउन पनि निर्देशन दिएको छ । आयोगले एक सूचना जारी गर्दै खर्च विवरण नबुझाउने उम्मेदवारलाई जरिवाना तोकेको हो । यससँगै खर्च विवरण बुझाउनेको पनि नामावली आयोगले सार्वजनिक गरेको छ ।

हालसम्म प्रतिनिधिसभाका २ हजार ३ सय ७३ जना र प्रदेशसभाका ५ हजार ५ सय ६१ जना उम्मेदवारले मात्रै खर्च विवरण बुझाएको आयोगले जनाएको छ ।

नेपाली कांग्रेसका नेता गगन थापा, राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम, माओवादी केन्द्रकी ओनसरी घर्तीसहितका सांसदहरूको नाम पनि खर्च विवरण नबुझाउनेको सूचीमा छ ।

Categorized in राष्ट्रिय