तीनवटा क्षेत्रमा मतदान, अधिकांश उम्मेदवारहरुले आफैलाई मत दिन पाएन
SamacharDesk | २०८० बैशाख १०, आइतबार

रिक्त रहेको प्रतिनिधिसभाका तीन वटा निर्वाचन क्षेत्रमा आज मतदान भईरहेको छ ।
तनहुँ १, चितवन २ र बारा २ मा विहान ७ बजेदेखि मतदान शुरु भएको हो । मतदान अपरान्ह ५ बजेसम्म चल्ने छ । तीन वटा क्षेत्रका साढे तीन लाख मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दैछन् ।
निर्वाचन आयोगले कुनै पनि भय, प्रलोभन वा आग्रहमा नपरी आफ्नो मताधिकार प्रयोग गर्न मतदातालाई आग्रह गरेको छ । निर्वाचन सुरक्षाका लागि नेपाली सेनासहित सशस्त्र र नेपाल प्रहरीको तीन घेराको सुरक्षा लागू गरिने निर्वाचन आयोगले जनाएको छ ।
निर्वाच भईरहेका तीन वटै क्षेत्रमा आज दिनभरका लागि अत्यावश्यक बाहेक अरु सवैखाले यातायात रोकिएको छ । यसैबीच उपनिर्वाचनका मूख्य प्रतिष्पर्धी उम्मेदवारहरु मध्ये अधिकांश आफैंलाई मत दिन नपाउने अवस्थामा रहेका छन् ।
सम्बन्धित निर्वाचत क्षेत्रको मतदाता नामावलीमा नाम नरहेका कारण जसपा, एमाले र रास्वपाका उम्मेदवाहरु आफैंलाई मत दिनबाट बञ्चित हुने भएका हुन ।
चितवनको क्षेत्र नम्बर २ मा मूख्य प्रतिष्पर्धी ठानिएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने र एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले आफूलाई मत हाल्न पाउने छैनन् । उहाँहरु दुवै जनाको मतदाता नामावली अन्यत्रै रहेकाले मत हाल्न नपाउने भएका हुन ।
उता, बाराको क्षेत्र नम्बर २ मा पनि मूख्य प्रतिष्पर्धी ठानिएका जसपा अध्यक्ष समेत रहेका सत्ता गठबन्धनका उम्मेदवार उपेन्द्र यादवले आफूलाई मत हाल्न पाउनु हुने छैन । यादवको मतदाता नामावलीको नाम सुनसरीमा रहेको छ ।
सो क्षेत्रमा रास्वपा उम्मेदवार रमेश खरेल र एमाले उम्मेदवार पुरुषोत्तम पौडेलले पनि मत हाल्न पाउनु हुने छैन । यता तनहुँमा पनि मूख्य प्रतिष्पर्धी मध्येका दुई उम्मेदवारले आफूलाई मत हाल्न पाउने छैनन् ।
एमाले उम्मेदवार सर्वेन्द्र खनाल र रास्वपा उम्मेदवार स्वर्णीम वाग्लेको मतदाता नामावलीको नाम अन्यत्रै रहेकाले उनीहरुले आफूलाई मत हाल्न नपाउने भएका हुन । कांग्रेसका गोविन्द्र भट्टराइले भने आफूलाई मतदान गर्न पाउनु हुनेछ ।
गत मंसिर ४ को निर्वाचनमा तनहुँ क्षेत्र नं. १ बाट निर्वाचित कांग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रपति भएपछि उक्त क्षेत्र खाली भएको हो भने बारा २ बाट निर्वाचित जसपाका रामसहाय प्रसाद यादव उपराष्ट्रपति भएपछि क्षेत्र खाली भएको हो ।
यस्तै चितवन २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद नागरिकता विवादका कारण गएपछि सो क्षेत्रमा उपनिर्वाचन गर्न लागिएको हो ।
Categorized in राष्ट्रिय