वातावरण बचाउन विद्युतीय सवारीसाधनको प्रयोग बढाउनुपर्नेमा जोड
SamacharDesk – बिराज | २०८१ जेठ ४, शुक्रबार

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले पछिल्लो समय वातावरण बचाउनका साथसाथै खर्च कम गर्न पनि नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग बढाउनु आवश्यक भएको बताएका छन् ।
शुक्रबार स्पार्क कारले आयोजना गरेको ‘ग्रीन मोबिलिटी एण्ड टुरिजम प्रोस्पेरिटी’ बारे छलफल कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले यस्तो भनेका हुन् ।
पर्यावरणलाई स्वच्छ बनाउनका साथै पेट्रोल तथा डिजेलमा खर्च कटौती गर्नका लागि पनि विद्युतीय सवारीसाधनको प्रयोग बढाउनुपर्ने उनको भनाई हो ।
‘पेट्रोल किनेर गाडी चलाउनुभन्दा यहीँको जलविद्यूत प्रयोग गरेर गाडी चलाउन पाउँदा लागत पनि कम लाग्ने अवस्था आउँछ । आगामी दिनमा विद्युतीय सवारीको प्रयोगलाई प्रोत्साहित गर्ने वातावरण बनाउन म पहल गर्नेछु’ मन्त्री बस्नेतले भने ।
आगामी १२ वर्षमा २८ हजार ५ सय मेगावाट विद्युत उत्पादनको लक्ष्यसहित अहिले नेपालमा ऊर्जा विकासको मार्गचित्र र कार्ययोजना बनाइएको समेत बताए ।
अहिले विद्युतीय सवारीसाधनलाई आवश्यक चार्जिङ स्टेशन विस्तार गर्ने काम व्यापक रुपमा भइरहेको बस्नेतले जानकारी दिए ।
कार्यक्रममा पर्यटनमन्त्री हितबहादुर तामाङले अहिले नेपालमा पूर्वाधारमा सोचेजस्तो राम्रो अवस्था विकास हुन नसक्दा पर्यटकको आवागमन बढाउन नसकिएको स्वीकार गरे ।
कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले ग्रीन इनर्जीतर्फ मात्र नभई ग्रीन बैंकिङतर्फ समेत नेपालमा अभ्यास भइरहेको बताए ।
राष्ट्र बैंकले वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापन (इएसआरएम) गाइडलाइन बैंक वित्तीय संस्थालाई जारी गरेको गभर्नर अधिकारीले बताए ।
‘लगानी गर्दा इआईए रिपोर्ट नहेरिकन उनीहरूले लगानी गर्दैनन् । जसले वातावरणलाई ठूलो प्राथमिकतामा राखेको देखाउँछ’ गभर्नर अधिकारीले भने ।
अधिकारीले अहिले मुलुकमा नीतिहरू राम्रो भइरहेपनि कार्यान्वयन कमजोर भएको समेत बताए ।
शुक्रबार मात्रै जारी भएको मौद्रिक नीतिको तेस्रो त्रैमासको समिक्षामार्फत विद्युतीय गाडी खरिदमा लिने कर्जाको जोखिमभार १२५ प्रतिशतबाट घटाएर शतप्रतिशत कायम गरिएको अधिकारीको भनाइ छ ।
वातावरणविद् भुषण तुलाधरले अहिले विश्वमा तापक्रम महिनैपिच्छे वृद्धि भई भयावह अवस्था सिर्जना भइरहेको बताए । पछिल्लो समय नेपालमा भएको आगलागी समेत जलवायु परिवर्तनपछिको खडेरीको असर भएको उनको भनाइ छ ।
केही दिनअघिमात्रै नेपालको विश्वकै सबैभन्दा बढी प्रदूशित शहर हुनुमा यसको मुख्य कारण पेट्रोल तथा डिजेलबाट चल्ने सवारीसाधनबाट निष्कने धुवाँ र अव्यवस्थित शहरीकरण भएकाले राज्यले यसतर्फ ध्यान दिनुपर्ने उनले बताए ।
अन्तरक्रियामा साइमेक्स इंकका प्रमुख कार्यकारी अधिकृतसाहिल श्रेष्ठले पछिल्लो समय विद्युतीय सवारीसाधन निकै भरपर्दो र किफायती सवारीसाधनको रुपमा रहेको बताए ।
कार्यक्रममा स्पार्क ग्रुपका अध्यक्ष रोशन घिमिरेले पर्यावरण जोगाउँदै पर्यटन प्रवद्र्धनका लागि पहल गर्न यस कार्यक्रम आयोजना गरिएको बताए ।
नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा स्पार्क कारले आयोजना गरेको कार्यक्रममा बहुराष्ट्रिय कम्पनी, कर्पोरेट तथा वातावरणविद् लगायतका प्रतिनिधि सहित २ सय भन्दा बढीको सहभागीता रहेको थियो ।
Categorized in समाज