एक्टिङ प्रतियोगीतामा उत्साहजनक सहभागीता
SamacharDesk – बिराज | २०७८ जेठ २, आइतबार

‘जि नं एक्टिङ याये सः’ एक्टिङ प्रतियोगीतामा काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट सहभागीता जनाईँदैछ ।
सुखावति मल्टि प्रोडक्सनले आयोजना गरेको उपत्यकाव्यापी एक्टिङ प्रतियोगीतामा उत्साहजकन रुपमा सहभागीता बढिरहेको आयोजक संस्थाका अध्यक्ष सुरेन्द्र तुलाधरले जानकारी दिनुभयो ।
‘प्रतियोगीतामा काठमाडौं, भक्तपुर, ललितपुर, कीर्तिपुरबाट सहभागीता जनाइएको छ । प्रतियोगीतामा भाग लिन दिनहुँ ईमेलमार्फत भिडियोहरु आइरहेका छन्, उत्साहजनक सहभागीता देखिएको छ’ अध्यक्ष तुलाधरले भने ।
तुलाधरका अनुसार प्रतियोगीतामा नयाँ साथै अनुभवि कलाकारलेसमेत सहभागीता जनाएका छन् ।
लकडाउनको समयलाई सदुपयोग गर्दै सुखावतिले अनलाइन एक्टिङ प्रतियोगीताको आयोजना गरेको हो ।
प्रतियोगीतामा भाग लिन सन्देशमूलक विषयवस्तुमा एकदेखि चारजनासम्म बसी एक्टिङ गरेर बनाइएको भिडियो आयोजकलाई ईमेलमार्फत पठाउनुपर्नेछ । यसरी बनाइएको भिडियो ३ देखि ५ मिनेटसम्मको मात्र हुनुपर्ने आयोजकले जनाएको छ ।
आउँदो जेठ १५ गतेसम्ममा भित्रिने भिडियोमध्येबाट उत्कृष्ट कलाकार छनौट गरी विजेताको नाम घोषणा गरिनेछ । भव्य कार्यक्रमकै बिच विजेताको नाम घोषणा गर्ने योजना रहेको तुलाधरले बताउनुभयो ।
‘अहिलेको परिस्थितीमा यहि मितिमा कार्यक्रम हुन्छ भन्न सकिने अवस्था छैन, तर एउटा भव्य समारोहमै विजेताको नाम घोषणा गर्ने योजना छ’ तुलाधरको भनाई हो ।
विजेतालाई प्रमाण पत्र र ट्रफिको साथमा नगद पुरस्कारसमेत प्रदान गरिने बताइएको छ ।
Categorized in पेजथ्री