पूर्व गृहमन्त्री खाँण पक्राउ
SamacharDesk – Aakash Rajopadhyaya | २०८० बैशाख २७, बुधबार
नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएपछि खाँणलाई प्रहरीले बुधवार बिहान निवासबाटै पक्राउ गरेको थियो।
थप सोधपुछ र प्रमाण जुटाउन अनुसन्धानलाई प्रभावकारी बनाउन उहाँलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
शरणार्थी प्रकरणमा यसअघि पक्राउ परेकाहरुको बयानका आधारमा खाँणलाई बुधबार बिहान पक्राउ गरिएको हो।
त्यस्तै प्रहरीले पूर्व गृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसीलाई पनि पक्राउ गरेका छन् ।प्रहरीले उनलाई बुधवार बिहान जडिबुटीबाट पक्राउ गरेको हो ।
यससँगै शरणार्थी प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या १२ जना पुगेको छ । यो प्रकरणमा मुछिएका एमालेका सचिव टोपबहादुर रायमाझी भने फरार रहँदै आएका छन् ।
उनलाई एकसाता अघि जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएको भएपनि फरार रहँदै आएका हुन् ।
यसअघि प्रहरीले रामशरण केसी र गोविन्द चौधरी, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरूङ र रायमाझीका छोरा सन्दीपलाई पक्राउ गरिसकेको छ।
Categorized in राष्ट्रिय