arin enterprises

काठमाडौं महानगरभित्र कक्षा ८ का परिक्षा स्थगित

SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७८ बैशाख २६, आइतबार

काठमाडौँ महानगरभित्रका विद्यालयहरुमा जेठ ३ गतेदेखि गर्ने भनिएको कक्षा ८ को नगर स्तरीय परीक्षा स्थगित गरिएको छ ।

कोरोना संक्रमण बढ्दो अवस्था र बैशाख मसान्तसम्म जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको अवस्थालाई दृष्टिगत गर्दै परीक्षा स्थगित गरिएको हो ।

आज महानगरको शिक्षा विभागले कक्षा ८ सञ्चालन भएका सबै विद्यालयलाई परिपत्र गर्दै अर्को सूचना प्रकाशन नभएसम्मका लागि परीक्षा स्थगित भएको जनाएको हो ।

यस अघि असारबाट शैक्षिक सत्र सुरु गर्ने योजनाअनुसार परीक्षालगायत शैक्षिक कार्यक्रम तय भएको थियो ।

‘जेठसम्ममा सबै परीक्षा सक्ने गरी कार्यक्रम चलिरहेका थिए । अहिले कोभिड संक्रमण बढ्दो क्रममा भएकोले कक्षा ८ को परीक्षा स्थगन गरेका छौँ’, महानगरका शिक्षा अधिकारी रामप्रसाद सुवेदी भन्नुहुन्छ, ‘एसईई परीक्षा र अर्को शैक्षिक सत्रको शुरुवात् सरकारबाट निर्णय आएबमोजिम गर्नेछौँ ।’

सुवेदीकाअनुसार महामारीको अवस्था हेरेर आगामी दिनका शैक्षिक कार्यक्रमहरुका बारेमा क्रमशः निर्णय हुँदै जानेछ ।

Categorized in स्थानीय