फल्चा शैलीको बस बिसौनी संचालनमा
SamacharDesk | २०८१ जेठ १, मंगलबार

नेवाः परम्पराको शैली बानेश्वर क्षेत्रमा दुईवटा फल्चा निर्माण गरी आजबाट संचालनमा ल्याइएको छ ।
मंगलबार काठमाडौं महानगरपालिका-१० का अध्यक्ष रामकुमार केसीले एक कार्यक्रमकाबीच फल्चा बस बिसौनीको उद्घाटन गरेका छन् । बानेश्वर-बबरमहल सडकखण्डमा फल्चा शैलीमा २ वटा बस बिसौनी बनेका हुन् ।
दुई वटा फल्चा मध्ये हाललाई बानेश्वरबाट बबरमहल सडकखण्डमा बनेको बस बिसौनी मात्र सञ्चालनमा आएको छ । बबरमहलबाट बानेश्वरतर्फको सडक खण्डमा बनेको बिसौनी असार महिनाभित्र सञ्चालनमा आउने जनाइएको छ ।
उद्घाटन कार्यक्रमपछि बोल्दै अध्यक्ष केसीले बानेश्वर क्षेत्र राजनीतिक आन्दोलनको केन्द्र भएको उल्लेख गर्दै आन्दोलनका क्रममा सम्पदाहरु बिगार्न नहुने बताए । उनले सार्वजनिक सम्पतीको रक्षा गर्ने दायित्व सबैको भएको बताए ।
उनले परम्परागत निर्माण सामग्री र शैलीको प्रयोग गरेर नमूना बस बिसौनी बनाएको उल्लेख गर्दै यस्ता संरचनाहरु राजनीतिक आन्दोलनको मारमा पर्नु नहुने बताए ।
केसीले बिसौनीको संरक्षणका लागि स्थानीयदेखि सबैले चनाखो हुन जरुरी रहेको बताए ।
नेवारी परम्परा र संस्कृतिसँग जोडिएको फल्चा शैलीमा बनेका दुवै बस बिसौनी ६२ लाख रुपैयाँमा बनेको महानगरपालिकाले जनाएको छ ।
उक्त नमुना फल्चा बस बिसौनी निर्माणमा कलात्मक थाम, निदाल र दलिनको प्रयोग गरिएको छ ।
बस्नका लागि काठकै मेच राखिएको र बिसौनीभित्र उज्यालोका लागि बत्ती पनि जडान गरिएको छ।
Categorized in समाज