आज बाबुको मुख हेर्ने दिन
SamacharDesk | २०८० भाद्र २८, बिहिबार

आफूलाई जन्म दिने बाबुलाई मनपर्ने खानेकुरा तथा उपहार प्रदान गरी बाबुको मुख हेर्ने दिन मनाईंदैछ ।
छोराछोरीहरुले परम्पराअनुसार आ–आफ्ना बुबालाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् । बुवा नहुनेहरुले आज तीर्थस्थल तथा नदी वा तलाउमा गएर पितृको नाममा तर्पण दिने र सिदादान गर्ने चलन पनि रहेको छ ।
आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ । यसैले आजको औँसीलाई गोकर्णे औँसीका नामले पनि चिनिन्छ ।
यस अवसरमा गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बुबाको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेको भीड लाग्ने गर्छ । यसैगरी रसुवा र नुवाकोट सङ्गमस्थल बेत्रावतीमा पनि मेला लाग्छ ।
‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले आफ्ना बुबालाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्छ । बुबा परलोक भइसकेकाले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्नाका साथै आफ्नो कूल स्थिर हुने बुद्धोक्त पाराजीकाय नामक धर्मग्रन्थमा उल्लेख छ ।
आजको दिन थोरै दान गरे पनि हजारौँ गुणा बढी फल पाइने भएकाले पुण्य पर्व पनि भनिन्छ । दान कुपात्रमा परे दिने र लिने दुवै नरक जाने शास्त्रीय भनाइ रहेको धर्मशास्त्रविद् भट्टराईले सुनाउनुभयो ।
अरू दान दीन दुःखीलाई दिए पनि सङ्कल्प गरेर दिने दान सुपात्रमै दिइनुपर्छ भन्ने शास्त्रीय मान्यता छ ।
त्यस्तै आजको दिन घरघरमा कुश भित्र्याएर कुशे औंशी पनि मनाउने चलन रहेको छ । हरेक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औंसीमा घर घरमा कुश भित्र्याउने तथा पितृकर्म गर्ने गरिन्छ ।
वैदिक सनातन धर्मावलम्वीहरुले आज देव तथा पितृ कर्ममा अनिवार्य चाहिने वनस्पति कुश भित्र्याएका छन् । बिहानै नुहाईधुवाई गरी मन्त्रोच्चारणसहित उखेलेको कुश घरको ढोकामाथि कसैको छोईछिटो नहुने गरी राख्ने चलन छ ।
पुरेतहरुले यजमानका घर घरमा कुश पु¥याईदिने पनि गर्दछन् । घरमा कुश राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।
आज भित्र्याइएको कुश वर्षभरी प्रयोग गर्न मिल्ने, अन्य औंशीका दिन उखेलिएको कुश एक महिना प्रयोग गर्न मिल्ने र अरु दिन उखेलिएको कुश सोही दिन मात्रै प्रयोग गर्न मिल्ने शास्त्रीय ब्याख्या रहेको छ ।
सनातन धर्मावलम्वीहरुले कुशलाई पनि भगवान् विष्णुको प्रतीक मान्ने गर्दछन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गर्नुभएको धार्मिक विश्वास छ ।
Categorized in राष्ट्रिय