पद्मकन्या कलेजको भोजन गृहमा खाद्य स्वच्छता कमजोर
SamacharDesk – बिराज | २०८२ मङ्सिर २, मंगलबार
पद्मकन्या कलेजको क्यान्टिन र छात्राबासको भोजन गृहमा खाद्य स्वच्छता कमजोर पाइएको छ ।
काठमाडौँ महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त अनुगमनका क्रममा उक्त कलेजको क्यान्टीन र छात्रावासको भोजन गृहमा खाद्य स्वच्छता कमजोर पाइएको हो ।
ती स्थानमा आधारभूत आचरणमा पनि कमजोर भेटिएको फुड टेक्नोलोजिष्ट अनिल बस्नेतले जानकारी दिनुभयो ।
अनुगमनमा देखिएको अवस्थाका विषयमा जानकारी दिँदै फुड टेक्नोलोजिष्ट अशोक पराजुली बागेश्वरी चमेनागृहका नामबाट सञ्चालित यस ठाउँमा सरसफाइको अवस्था सामान्य र जालीदार टोपी (हेयर नेट), पञ्जा, एप्रोनको उचित प्रयोग नपाइको बताए ।
‘तयारी खाद्य पदार्थ नछोपी राख्ने गरेको, फ्राइ गर्ने कराइ अत्यन्त पुरानो रहेको, आगोजन्य जोखिम न्युनीकरणका उपकरणहरुको व्यवस्था नभएको देखियो । यो चमेना गृहले व्यवसाय दर्ता गरेको पनि पाइएन’ फुड टेक्नोलोजिष्ट बस्नेतले भने ।
अनुगमनका क्रममा चमेना गृहबाट म्याद गुज्रिएको ७ सय ग्राम चाउमिन नष्ट गरिएको थियो । स्टोर कोठामा खाद्य सामग्री अव्यवस्थित रूपमा भण्डारण गरिएको, भान्सामा रहेको धुवाँ निकास गर्ने पङ्खा बिग्रिएको र खाना बनाउने ठाउँमा कालो जमेको फोहर पाइएको थियो ।
पी. के. चमेना गृह एण्ड रेस्टुरेन्टले सञ्चालन गरेको यस भोजनगृहको भान्छामा कीरा नियन्त्रण गर्ने कुनै विधि पनि नअपनाइएको बताइएको छ ।
यति मात्र नभई, कलेजमा राखिएको पानी शुद्धिकरण प्रविधि (वाटर ट्रिटमेन्ट प्लान्ट)मा पानी नै नभएको र प्लान्ट वरिपरि धुलैधुलो र फोहोर जमेको देखिएको थियो ।
अनुगमनपछि कलेजका सहायक प्राचार्य विमला नेपालले कमजोरी देखिएको स्वीकार गर्दै यसलाई सुधार गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।
अनुगमन टोलीले कलेजको क्यान्टिन र छात्रावासको भोजनगृहलाई कीट नियन्त्रण प्रणाली राख्न, सरसफाइ र स्वच्छतामा ध्यान दिन, लेबलसहितका प्रशोधित खाद्य वस्तु मात्र प्रयोग गर्न निर्देशन दिएको छ ।
साथमा अनुमति प्राप्त उद्योगबाट उत्पादित वस्तु मात्र प्रयोग गर्न, खाद्य अनुज्ञा अनुमति प्राप्त वस्तु मात्र विक्री वितरण गर्न, आगो जोखिम न्यूनीकरणका उपकरण जडान गर्न पनि निर्देशन दिएको छ ।
अनुगमनका क्रममा टोलीले बागबजारमा सञ्चालित विमला स्विट्स एण्ड चार्ट हाउस र बज्रयोगिनी भोजनालय एण्ड खाजा घरको समेत अनुगमन गरेको थियो ।
विमला स्वीट्स एण्ड चार्ट हाउसले मिठाइजन्य खाद्यवस्तु विक्री वितरणका लागि अनुमति नलिएको फाष्टफुड सञ्चालनको अनुमतिमा नै मिठाइजन्य वस्तु विक्री वितरण गरेको पाइएको थियो ।
अनुगमन टोलीले विमला स्वीट्सलाई मिठाइजन्य वस्तु विक्री वितरणको व्यवसायिक अनुमति लिन निर्देशन दिएको छ ।
यी दुवै खाद्य सेवा प्रदायकहरुले, मसीजन्य कागज ब्यागमा प्याकिङ गर्ने गरेको, सरसफाइको अवस्था सामान्य रहेको, आगोजन्य जोखिम न्युनीकरणको उपकरणहरू जडान नगरिएको, फोहोर फाल्ने डष्टबिन नछोपी राखिएको, कीट व्यवस्थापनमा ध्यान नदिएको देखिएको छ ।





