अनलाईन ठगी तथा नक्कली मुद्राको कारोवारको अभियोगमा विदेशी नागरिक पक्राउ
SamacharDesk – बिकाश | २०७७ भाद्र १, सोमबार

अनलाईन ठगी तथा नक्कली मुद्राको कारोबार गरेको अभियोगमा एक विदेशी नागरिकलाई पक्राउ गरेको छ ।
प्रहरीले गत शुक्रबार रिपब्लिका दि एङ्गोलाका ४८ वर्षीय नागरिक सिल्भा एन्टोनिया डा कोस्टालाई काठमाडौंबाट पक्राउ गरेको छ ।
एक युवतीलाई सामाजिक सन्जाल इन्स्टाग्राममार्फत कोस्टाले आफ्नो झुठो परिचय दिएर विभिन्न प्रलोभन समेत देखाएर विहे गर्ने भन्दै ४८ लाख बढि रकम ठगी गरेको खुल्न आएपछि महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
कोस्टाले युवतीलाई आफू लण्डनको बुपा क्यामवाल अस्पतालको डाक्टर मार्की आरोन भनी झुठो परिचय दिएर नेपाल आइ बिहे गर्ने आश्वासन दिएका थिए ।
साथै नयाँ वर्षको अवसरमा हिराको औंठी, घडी, सुनको सिक्री र २ लाख ३० हजार पाउण्ड समेत पठाएको भन्दै प्रलोभनमा पारी सामानको भन्सार छुटाउन र एक्सचेन्ज चार्ज बुझाउन रकम आवश्यक पर्यो भनेर पटक पटक गरी ४८ लाख ५४ हजार ४ सय २० रुपैयाँ ठगी गरेको थियो ।
कोस्टा बसेको ठमेलस्थित होटलको कोठा तलासी गर्दा नेपाली ३ लाख १५ हजार ७ सय ४५ रुपैयाँ, ९ सय अमेरिकी डलर, एटीएम कार्डहरू, पाउडरको वट्टाहरू, १ थान ल्यापटप, नक्कली जस्तो देखिने १ हजार दरका नेपाली ३ थान नोटहरू तथा विभिन्न देशका मुद्रा, नोट आकारको कालो कागजको बण्डल, विभिन्न केमिकलहरू, टेप, पेपर कटर लगायतका सामानहरू प्रहरीले बरामद गरेको छ ।
प्रारम्भिक अनुसन्धानको क्रममा कोस्टाले शुक्रबार अर्की युवतीबाट पनि ३७ हजार रुपैयाँ नगद ठगी गरेको खुल्न आएको थियो ।
कोस्टा २०७६ फागुन २४ गते नेपाल आएको अनुसन्धानको क्रममा खुल्न आएको छ ।
प्रारम्भिक अनुसन्धान पश्चात ठगी र खोटा मुद्रा बनाएको कसूर समेतमा थप अनुसन्धानको लागि बरामद गरिएका सामानसहित कोस्टालाई महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएकोमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप भई अनुसन्धान भइरहेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
Categorized in अपराध