पार्टीको झन्डा ओढाउँदै काँग्रेसबाट राणालाई श्रद्धान्जली
SamacharDesk – बिराज | २०७८ भाद्र २६, शनिबार

पूर्व राजदूत रुक्मशमशेर राणाको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाउँदै नेपाली काँग्रेसले श्रद्धान्जली व्यक्त गरेको छ ।
नेपाली कांग्रेसका संस्थापक नेता शुवर्ण शमशेर राणाका कान्छा सुपुत्र रुक्मशमशेर राणाको पार्थिक शरीरमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको झन्डा ओढाउनुभएको हो ।
बत्तीससपुतलीस्थित राणाकै निवास पुगेर प्रधानमन्त्री देउवाले राणाको मृत शरीरमाथि झन्डा ओढाउँदै श्रद्धाञ्जली व्यक्त गर्नु भएको हो ।
यस अघि प्रधानमन्त्री देउवाले सामाजिक संजालमा लेख्दै राणाप्रति श्रद्धान्जली पोखेका थिए ।
‘नेपाली काँग्रेसका संस्थापक नेता सुवर्ण शमसेर राणाका सुपुत्र, मेरा मित्र एवम् नेपाली काँग्रेसका पूर्वसांसद राणाको निधनको खवरले निकै दुखी भएको छु,’ देउवाले ट्वीट गर्दै लेखेका छन् ।
नेपाली कांग्रेसका संस्थापक नेता सुवर्ण शमशेर राणाका सुपुत्र, मेरा मित्र एवं नेपाली कांग्रेसका पूर्वसांसद रुक्मशम्शेर राणाको निधनको खवरले निकै दुखी भएको छु । उहाँको आत्माको चीर शान्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु । pic.twitter.com/hN0RX1Pvw6
— Sher Bahadur Deuba (@SherBDeuba) September 11, 2021
त्यस्तै पूर्व महामन्त्री प्रकाश मान सिंह, शशांक कोईराला, डा. मिनेन्द्र रिजाल लगायत कांग्रेसका नेताहरु राणालाई श्रद्धाञ्जली अर्पण गर्न बत्तीसपुतली पुगेका थिए ।
लामो समयदेखि मृगौलाको समस्याले पिडित रहेका राणाको आज बिहान बत्तीसपुतलीस्थित आफ्नै निवासमा निधन भएको थियो । ८५ वर्षीय राणाको मृगौला प्रत्यारोपणपछि नियमित डाइलाइसिस गराउँदै आउनुभएको थियो ।
राणा सन् २००९ देखि २०११ सम्म भारतको राजदूत थिए । त्यस्तै राणाले दुई पटकसम्म राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवको जिम्मेवारी निर्वाह गर्नुभएको छ । साथै उनले नेपाल ओलम्पिक कमिटीमा पनि लामो समय नेतृत्व दिनुभएको छ ।
उहाँको अन्त्येष्टि भोलि गरिने उनको परिवार निकट स्रोतले जनाएको छ ।
Categorized in समाज