arin enterprises

कामपा १६ वडा भवनको शिलान्यास

SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७८ श्रावण ३०, शनिबार

काठमाडौँ महानगरपालिका वडा १६ कार्यालय भवनको आज शिलान्यास भएको छ । वैदिक मन्त्रोच्चारणसहित महानगरका प्रमुख विद्यासुन्दर शाक्यले आज भवनको शिलान्यास गर्नुभएको हो ।

शिलान्यासपछि बोल्दै महानगर प्रमुख शाक्यले महानगरको व्यवस्थित सेवा प्रवाहका लागि सुविधा सम्पन्न भौतिक पूर्वाधारको परिकल्पनासहित धेरैजसो वडा भवनहरुको शिलान्यास भइसकेको बताउनुभयो ।

‘हामीले केही वडा भवन निर्माणका प्रयासलाई सार्थक बनाउन सकिरहेका छैनौँ । मुद्दा चलाएर काम रोकिदिने प्रवृत्तिले केन्द्रीय कार्यालय निर्माण पनि ढिला भएको छ । वडाहरुमा कहीँ जग्गाको समस्या छ भने कहीँ न जग्गा खरिद गर्न पाइन्छ, न भवन नै किन्न पाइन्छ’ शाक्यले भन्नुभयो ।

कार्यक्रममा अमरगढी नगरका प्रमुख विश्वेश्वर प्रसाद ओझाको समेत उपस्थिती रहेको थियो । कार्यक्रममा बौल्दै अमरगढी नगर प्रमुख ओझाले अन्तरपालिका समन्वय र सहकार्यले काठमाडौँ महानगर र अमरगढी नगरविच भगिनी सम्बन्ध स्थापना गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो ।

त्यस क्रममा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले सुविधा सम्पन्न वडाबाट गुणस्तरीय सेवा प्राप्त गर्न सकिने उल्लेख गर्नुभयो ।

भवनका डिजाइनर सार्वजनिक निर्माण विभागका इञ्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार बेसमेन्टसहित भवन १० हजार ७०३ बर्गफुट क्षेत्रफलको हुनेछ । भवनको भूमिगत तलामा १० वटा चारपाङ्ग्रे सवारी पार्किङ् गर्ने क्षमता हुनेछ । ६ जना व्यक्ति अट्ने क्षमताको लिफ्टसहितको भवन अपाङ्गमैत्री हुनेछ ।

भवन बाहिरबाट हेर्दा नेपाली परम्परागत शैलीको हुनेछ भने भित्र आधुनिक सुविधा सम्पन्न हुनेछ । भवनको जमिन तलामा सहरी स्वास्थ्य क्लिनिक र दर्ता चलानी कक्ष हुनेछ । पहिलो तलामा वडाध्यक्ष, वडा सदस्यहरु र वडा सचिवको कक्ष रहनेछ ।

दोस्रो तलामा प्रशासनिक कक्ष तेस्रो तलामा प्रमुखको बैठक र कार्यालय कोठा हुनेछ । भवनमा सुविधा सम्पन्न बैठक कक्ष हुनेछ ।

भवन निर्माणका लागि साउन २९ गते कार्यादेश दिइएको थियो । यसको निर्माण अवधि १८ महिना (०७९ फागुन १५) सम्म रहनेछ । बोलपत्रका माध्यमबाट गरिएको खुल्ला प्रतिस्पर्धाबाट गौरी पार्वती/के एण्ड के.जी/रमिता जेभीले ७ करोड ५३ लाख २२ हजार ६४० रुपैयाँ निर्माण कबोल गरेर जिम्मा पाएको छ ।

१ रोपनी ४ आना २ पैसा जमिनमा निर्माण हुने भवनको बाहिरी भागमा मोटरसाइकल पार्किङ् गर्ने ठाउँ र हरियाली हुनेछ ।

Categorized in स्थानीय