फोहोर व्यवस्थापनका लागि गगन थापाको ६ बुँदे सुझाव
SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७९ जेठ २९, आइतबार

काठमाडौंको फोहर व्यवस्थापनको विषयमा नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सहमतिको कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् ।
थापाले आज सामाजिक संजालमा स्टाटस अपडेट गर्दै विभिन्न ६ वटा सुझाव राख्दै सिसडोल बन्चरे डाँडाका स्थानीय र शहरी विकास मन्त्रालयबीचको सहमितमा जोड दिएका हुन् ।
सुझावको पहिलो बुँदामा लेख्दै थापाले डम्पिङ साइटका स्थानीय वासिन्दा र सरकारबीच १७५ पटक सम्झौता सम्झौता भएको स्मरण गर्दै सम्झौता कार्यान्वयन नहुँदा यस पटकको सम्झौता कार्यान्वयनमा पनि स्थानीय वासिन्दामा शंका रहेको लेखेका छन् ।
दोश्रो बुँदामा थापाले यस पटक एक ठाँउमा पनि नचुकी भनिएकै समय भित्र सम्झौता कार्यान्वयन गर्न शहरी विकास मन्त्रालयको निरन्तर तदारुकता औंल्याएका छन् ।
यसैक्रममा केहि काम शहरी विकास मन्त्रालय भन्दा अन्य मन्त्रालयको क्षेत्राधिकार भित्र परेको भन्दै थापाले ती मन्त्रालयले समयमा काम सम्पन्न गराउन कतिपय अवस्थामा प्रधानमन्त्री कार्यालयकै पहलकदमी चाहिने पनि बताएका छन् ।
‘खासमा जग्गा अधिग्रहणको विषय यही आर्थिक वर्षमा टुङ्गाउन पर्छ । कानुन बमोजिम तोकिएपछि मनासिव क्षतिपूर्ति दिन, यही आर्थिक वर्षको बजेटमा पुग्दो रकम बिनियोजनको व्यवस्था प्रधानमन्त्रीले गर्न लगाउनै पर्छ’ थापाले लेखेका छन् ।
संघीय सरकारको निश्चित समयभित्र गर्ने भनिएको कामको अनुगमन गर्न रसहजिकरण समेत गर्न काठमाडौं, धादिङ र नुवाकोटका सांसदहरूको अनुगमन, सहजिकरण समिति पनि उनले प्रस्ताव गरेका छन् ।
महानगरपालिकाको एकल क्षेत्राधिकार भन्दा बाहिरको विषयमा अन्य सम्बन्धित निकायले कामपालाई सम्पूर्ण साथ दिन पनि थापाले सुझाव दिएका छन् । पाँचौ बुँदाको सुझावमा फोहोर पठाउने अन्य सम्पूर्ण स्थानीय तहले पनि कामपासँग निरन्तर समन्वय गरेर काम गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
अर्को बुँदामा श्रावण १ गतेबाट स्रोतमै छुट्याइएको फोहोर मात्र संकलन गर्ने भनेकोमा सम्पूर्ण महानगरबासीहरूले साथ दिएर अभियानलाई सार्थक बनाउनु आह्वान गरेका छन् ।
प्रत्येकले आ–आफ्नो जिम्मामा परेका काम गर्दै गएमा फेरी १७६औं पटक सम्झौता गर्नुपर्ने अवस्था नआउने विचार राख्दै काठमाडौ फोहोरको संकटबाट मुक्त हुने विश्वास व्यक्त गरेका छन् ।
Categorized in राजनीति