गणेश चतुर्थीको साथमा चथाः पर्व मनाईँदै
SamacharDesk – शिवेश शर्मा | २०७७ भाद्र ६, शनिबार

आज भाद्र शुक्ल चतुर्थी, गणेशको पूजा आराधना गर्दै गणेश चतुर्थी मनाईँदैछ ।
आजको दिन नेपालको साथै भारत र विश्वका विभिन्न देशमा वसोवास गरिरहेका हिन्दु धर्मावलम्बीहरुले यो चाड भव्यताका साथ मनाउने गर्दछन् ।
भारतमा विशेष गरी महाराष्ट्रमा ठुलै तामझामका साथ गणेश चतुर्थी मनाउने गरिन्छ ।
आजको दिनलाई गणेशको जन्मदिनको रुपमा लिइन्छ ।
गणेशलाई प्रथम पूज्य देवताको रुपमा लिइन्छ । शिवबाट उनले प्रथम पूज्यको वरदान पाएका थिए
भाद्र शुक्ल तृतीयाको दिन तीजको व्रत बस्नेले चतुर्थीको दिनमा जीवनमा कुनै विघ्नवाधा नआओस् भनी गणेशको पूजा गर्ने विधान पनि गणेश पुराणमा उल्लेख गरिएको छ ।
मंगल चतुर्थी समेत भनिने आजको दिन काठमाडौं उपत्यकाभित्र काठमाडौंको कमलादीस्थित गणेशथान, मरुस्थित अशोक विनायक मन्दिर, भक्तपुरस्थित सुर्यविनायक, कमलविनायक, चोभारस्थित जलविनायक लगायतका विभिन्न गणेशथानमा पूजा गर्नेको भीड लाग्ने गर्दथ्यो ।
तर यसपालि कोरोना महामारीका कारण उपत्यकाका सबै मठ मन्दिरहरु बन्द रहेको र निषेधाज्ञा जारी रहेको अवस्थामा सबैले घरघरमै पूजा गर्दै गणेश चतुर्थी मनाइरहेका छन् ।
यस पर्वलाई दशैँको आमन्त्रण पूजा गर्ने पर्वको रूपमा पनि लिइन्छ । त्यसैले आजको दिन जस्तो हुन्छ दशैँ पनि त्यस्तै हुने सामाजिक विश्वास रहेको छ ।
आजको दिन आराधना गरिने गणेशको नाम ‘हेरम्ब’ भनिएको छ ।
हेरम्ब गणेशको ध्यान यस प्रकार वर्णन गरिएको छ– ‘पाँच शिर भएका, रक्त (रातो) वर्ण, दश हात, सूर्यको जस्तो तेज भएका, चन्द्रमा शिरमा सिंगारेका, नरमुण्ड माला, सर्पमाला, मुकुट पहिरेका, दायाँ पाँच हातमा मूला, कमलको फूल, अंकुश, डमरू र अभय मूद्रामा छन् भने बायाँ पाँच हातमा वन्चरो, पाश, खट्वांग, लड्डु र वरमूद्रा सहित ऋद्धि र सिद्धिलाई समिपमा राखिरहेका छन् ।
यस्तो स्वरूपलाई पूजा गरेमा चन्द्रको सबै दोष नाश हुने जनविश्वास छ ।
गणेश पुराणमा गणेश चतुर्थीलाई ‘चन्द्र दोष निवारण’ का लागि मनाइने पर्व भनेर लेखिएको छ ।
गणेश चतुर्थीसँग जोडिएको किम्वदन्ति
गणेश चतुर्थी किन मनाइन्छ भन्ने सन्दर्भमा समाजमा एउटा रमाईलो किम्वदन्ती प्रचलित छ ।
गणेश आफ्नो बहान मुसामाथि चढेर रातको समयमा यात्रा गरिरहँदा चन्द्रमाले हात्तीको मुख, मुसा चढ्ने आदि नाना तरिकाले जिस्काउन पुगेछन् ।
यसरी आफ्नो खिल्ली उडाएको रिसमा चन्द्रमाको सबै तेज नाश होस् र जसले चन्द्रमालाई हेर्छ उसलाई चोरेका दोष लागोस् भनी गणेशले चन्द्रमालाई सराप्छन् र चन्द्रमाको सबै तेज हराइजान्छ ।
गणेशले सरापेपछि चन्द्रमाले आफुबाट गल्ती भएको स्वीकार्दै पश्चाताप गर्छन् र गणेशसँग क्षमा माग्छन् ।
त्यसपछि गणेशले हरेक महिनामा तेज हराउँदै गएर पन्ध्र दिनमा एक पटक पुरै तेजहीन हुने र तेज बढ्दै गएर पन्ध्र दिनमा एक पटक पूर्ण तेज हुने वरदान दिएछन् ।
गणेशले चन्द्रमालाई यहि श्राप र वरदान दिएको दिनको विश्वासमा आजको गणेश चतुर्थी मनाउने गरीएको जनविश्वास छ ।
नेवार समुदाय चथाः मनाउँदै
आजका दिनलाई नेवार समुदायले भने चथाःको रुपमा मनाउने गर्छन् ।
आजको दिनमा नेवार समुदायले पनि गणेशलाई चथाःद्यःको रुपमा पूजा गर्ने गर्छन् । चथाःथःलाई खुँद्यः (चोर देवता) पनि भन्ने गरिन्छ ।
चथाः देवता पूजा गर्न नेवारहरूले बिहानै उखुको बोट, अदुवाको बोट, पारिजात, कमलको पात किनेर ल्याइन्छ ।
यसको साथमा देवतालाई चढाउन सानो नास्पाती, हरियो झम्सी, हरियो खुर्सानी, काँचो लप्सी पनि राखिन्छ ।
सानो दसैँ समेत भनिने यस पर्वमा समयबजि राखेर आगम देवताको पूजा गर्छन् ।
आजको दिनमा गरिने पूजामा विभिन्न १२ थरी गेडागुडीसहितको छुस्यामुस्या अनिवार्य मानिन्छ ।
चथाःलाई जति राम्रो मनाइन्छ, दशैं पनि त्यस्तै हुने विश्वासका साथ आजको दिन सबै परिवार एकै ठाउँमा भेला भई भोज पनि खाने गरिन्छ ।
चथाः नखः जुन हप्तामा पर्छ, महिना दिनपछि त्यही हप्तामा दशैँको कूछि भ्वय् (अष्टमीको दिनमा खाइने भोज) पर्छ ।
चथाःको दिन पानी परेमा दसैँमा पनि पानी पर्छ भनिन्छ ।
चथाःसँग सम्वन्धित जनश्रुति
चथासँग येयाः अर्थात ईन्द्रजात्रा पनि सम्वन्धित देखिन आउँछ ।
पारिजात फूल धर्तीका शोभा हो । यो फूस स्वर्गमा पनि पाईँदैन भनेर भनिन्छ ।
देवराज इन्द्रका आमाले उनलाई धर्तीमा पारिजात फूल टिप्न पठाउँछन् ।
इन्द्र रातको समयमा धरतीमा आई एउटा बारीमा गई पारिजात टिप्न जाँदा त्यहाँका मालीले समाई ईन्द्रलाई बाँधेर नगर डुलाइदिए ।
यो सबै देखेका चन्द्रमा पनि चुप बसेकाले आजका दिनमा चन्द्रमा दर्शन गरे चोर दोष लाग्ने जनश्रुति रही आएको छ।
त्यसैले आज राती चन्द्रमा उडाएपछि चन्द्रमा नहेरी पूजा गरिन्छ ।
पाटनमा भीमसेन मन्दिरमा पनि विशेष पूजा
आजकै दिनमा पाटनको भीमसेन मन्दिरमा पनि गणेश पूजा अघि भीमसेनलाई समेत चन्द्रमा दर्शन गराइन्न ।
मन्दिरका झ्याल ढोकाहरू सबै बन्द गरिन्छ । गणेश पूजा सम्पन्न भएपछि मात्रै झ्यालहरू सबै खोलिन्छ ।
त्यसपछि नगरा बजाउँदै भजन गरिन्छ र प्रसाद बाँडिन्छ ।
Categorized in संस्कृति