सुन तस्करी प्रकरणमा थप चार चिनियाँ पक्राउ
SamacharDesk | २०८० श्रावण ३१, बुधबार

त्रिभुवन विमानस्थलबाट बरामद गरिएको एक क्विन्टल सुन प्रकरणमा थप चार जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुधबार तस्करीको सुन प्रकरण अभियोगमा थप चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको हो । नेपाल प्रहरीले चिनियाँ नागरिक टीयान मी, वेन तोङ, डीङ सेग्फा र ली–नेङकाईलाई पक्राउ गरेको जनाएको छ ।
उनीहरु चारै जनालाई सङ्गठित सुन तस्करीको अभियोगमा म्याद थप गरी अनुसन्धान भइरहेको जनाइएको छ । सीआईबीले चार जनालाई काठमाडौँका विभिन्न ठाउँबाट पक्राउ गरिएको हो । योसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या २१ पुगेको छ ।
यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय सुरक्षाको पहिलो ढोकाको रूपमा रहेको त्रिभुवन विमानस्थलको समग्र व्यवस्थापन र सुरक्षा व्यवस्थामा व्यापक हेरफेर ल्याउनुपर्ने बताउनुभएको छ ।
बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित विमानस्थलको सुरक्षा प्रबन्ध र सरकारले चाल्नुपर्ने कदमका बारे छलफल गर्न आयोजित बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रीले विमानस्थलको सुरक्षा प्रबन्ध व्यवस्थित गर्न ठोस कदम चाल्नुपर्नेमा जोड दिनुभएको हो ।
Categorized in राष्ट्रिय