arin enterprises

ठूलो मात्रामा सुन समातियो

SamacharDesk | २०८० श्रावण ४, बिहिबार

राजस्व अनुसन्धान विभागले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक क्विन्टल सुन बरामद गरेको छ ।

उक्त सुन आज राष्ट्र बैंकले जोख्नेछ । हङकङबाट आएको उक्त सुन विमानस्थलको भन्सारबाट समेत पास भइसकेको अवस्था थियो ।

सुन ट्याक्सीमा राखेर एयरपोर्टबाट बाहिरिने क्रममा विशेष सूत्रको सूचनाका आधारमा विभागले सुन बरामद गरेको हो। अध्यागमन र प्रहरीबाट समेत सुन पास गरेर अघि बढिसकेको अवस्थामा विभागले नियन्त्रणमा लिएको हो।

मंगलबार साँझ विभागले गरेको गोप्य अप्रेसनमा सुनसहित चारजना पनि पक्राउ परेका छन् । सुनको यकिन परिमाण आइनसके पनि करिब सय केजी हाराहारीमा रहेको अनुसन्धान विभागका अधिकारीले बताएका छन् ।

ती अधिकारीका अनुसार सुनका एक सय ६० टुक्रा बरामद भएका छन्, जसको मूल्य करिब एक अर्बभन्दा बढी रहेको अनुमान गरिएको छ । नेपालमा सुन बरामद परिमाण यो नै अहिलेसम्मकै ठूलो हो । यसअघि एकैपटक ८८ केजीसम्म बरामद भएको थियो ।

आठ वटा कार्टुन बक्समा ल्याइएका स्कुटरका १ सय ६० वटा ब्रेक सुको जाँचपास भन्सार कार्यालयले गरेको थियो। जसको तौल १ सय ५४ केजी उल्लेख रहेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार जनाएको छ ।

गत जुलाई १६ तारिखमा हङकङबाट आएको क्याथे प्यासेफिकको उडानमा स्कुटरको ‘ब्रेक सु’ को आवरणमा सुन ल्याइएको हो। तीन दिन विमानस्थलको भन्सार गोदाममा राखेर बुधबार बेलुका सुन निकालिएको थियो।

समातिएको सुन बुढानीलकण्ठ ठेगाना उल्लेख गरिएको ‘रेडी ट्रेडर्स प्रालि’ का नाममा आएको थियो।  सुन नक्कली फर्म खडा गरी त्यसकै नाममा प्रज्ञापनपत्र खोलेर ल्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको राजस्व अनुसन्धान विभागले जनाएको छ।

सुन ओसारपसारमा संलग्न रहेका रेडी ट्रेडका सञ्चालक दिलीप भुजेल, रामकुमार भुजेल, भन्सार एजेन्ट राजेन्द्र राई र ट्याक्सीचालकलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । दिलीपको बयानका आधारमा रामकुमार पक्राउ परेका हुन् ।

त्यसैगरी विभागले सुन तस्करमा संलग्न एक भारतीयलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

Categorized in राष्ट्रिय