शताब्दी पछि हरसिद्धिको नाच दोलखामा पनि नचाईने
SamacharDesk – राजेश बज्राचार्य, कृतन मंगल जोशी | २०७८ फाल्गुण १२, बिहिबार

नेपालको पहिलो मुकुट नाचका रूपमा परिचित ललितपुरको पौराणिक हरसिद्धीको १२ वर्षे नाच यस वर्ष चैत्र मसान्त अगावै दोलखामा पनि नचाईने भएको छ ।
फागुण ७ गते दोलखा स्थलगत निरीक्षण भ्रमणमा पुगेका हरसिद्धी देवगणको टोलीलाई भिमेश्वर नगरपालिकामा आयोजित स्वागत कार्यक्रम पछि नगरप्रमुख भरत केसीले सो कुराको उदघोष गरेका हुन ।
‘दोलखाका प्रख्यात दोलखा भिमसेन, कालिन्चोक भगवती, त्रिपुरा सुन्दरीलगायतका अन्य थुप्रै साँस्कृतिक सम्पदा संरक्षण र प्रवद्र्धनमा हामी लागि परेका छौं । यसै सन्दर्भमा यहाँको हरिसिद्धि मन्दिरको इतिहास उजागर गर्नुकासाथै यहाँ लोपोन्मुख भइसकेको हरसिद्धीको ‘जल प्याखँ’ पुनस्र्थापना गर्ने अवस्थासम्म पुग्नसक्नु नगरकै गौरवको बिषय हो’ नगर प्रमुख केसीले भन्नुभयाे ।
करुणामय जात्रा, भिमसेन मन्दिर जस्ता साझा साँस्कृतिक गतिविधी आदानप्रदानका बिषयमा समेत सहकार्य गर्नेबारे ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनज्युसँग छलफल भइरहेको जानकारी गराउनुभयो ।
सोही बैठकले नाच ब्यवस्थापनकालागि दोलखाका बौद्धिक वर्गलगायत स्थानीय जानकार अग्रजदेखि युवाहरु सम्मिलित ५१ सद्स्यीय बृहत् समिति बनाउने निर्णय गरेको छ ।
देवगणहरुमध्येका रमेश महर्जनका अनुसार यो नाच दोलखा नपुगेको कम्तीमा पनि एक शताब्दी भैसकेको अनुमान गर्न सकिने बताउनुभयो ।
हरसिद्धी नाचका प्वःमि थकाली नायो (ब्यवस्थापन नाइके) राइटर महर्जन, दोलखाका संस्कृतिविद एवं अभियन्ता शान्ता कृष्ण श्रेष्ठ, फोटो पत्रकार कृतन मंगल जोशी र संस्कृती अध्ययेता संचारकर्मी राजेश बज्राचार्यलगायतले आआफ्नो धारणा राखेका थिए ।
यस १२ वर्षे नाचलाई दोलखासम्म नचाउने परम्परा राजा अमर मल्लले नेपाल सम्वत ६८० (बि.सं. १६१६) तिर बसालेको देवमाला वंशावलीमा उल्लेख रहेको अमेरिकी सोधकर्ता डा. लिण्डा इल्टीसले आफ्नो लेखमा उल्लेख गरेकी छिन ।
Categorized in संस्कृति