arin enterprises

हर्षाेल्लासपूर्वक होली मनाईंदै

SamacharDesk | २०८० चैत्र ११, आइतबार

रंगैरंगको पर्व होली आज काठमाडौं उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा उल्लासपूर्वक धुमधामसँग मनाईंदैछ ।

काठमाडौंको वसन्तपुरमा चीर ठड्याइएपछि होली सुरु भएको थियो । । गत चैत्र ४ गते केन्द्रीय मानन्धर संघको धालासिक्व मानन्धर सनाःगु खलःको संयोजनमा बसन्तपुरको गद्दी बैठक अगाडि चीर ठड्याइएपछि यस वर्षको होलीको शुभारम्भ हुने गर्दछ ।

यसै अवसरमा एक आपसमा मैत्री भाव प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रंग दलेर तथा लोला खेलेर होली मनाउने गरिन्छ । आपसमा मैत्रीभाव राख्दै सद्भावपूर्वक खेलिने यो पर्वमा ख्याली, टप्पा र वसन्त राग गाउँदै नाच्दै अभीर लगाएर शुभकामना आदानप्रदान गरिन्छ ।

सत्य युगमा विष्णुभक्त प्रल्हादलाई मार्नका लागि हिरण्यकश्यपले विभिन्न जाल बुन्दा पनि नसकेपछि आगोबाट नजल्ने र नमर्ने वरदान पाएकी बहिनी होलिकाले प्रल्हादलाई काखमा लिएर आगोमा बस्न लगाउँदा प्रल्हादलाई केही नभएको तर होलीका जलेर नष्ट भएको प्रसंग यस पर्वसँग जोडिएको छ ।

असत्यमाथि सत्यको विजय भएको यस घटनापछि होली मनाउन थालिएको विश्वास गरिन्छ । नेपालका पहाडी तथा हिमाली क्षेत्रमा फागु पूर्णिमाका दिन होली मनाउने गरिन्छ भने तराईमा पूर्णिमाको भोलिपल्ट मनाउने गरिन्छ । विभिन्न समुदायको बसोबास रहेको तराईमा दुई÷तीन दिनसम्म होली मनाउने चलन छ ।

आज साँझ काठमाडौंको वसन्तपुरमा गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुंंडिखेलमा लगी जलाई दहन गरिन्छ र औपचारिक रुपमा यो वर्षको होली समाप्त हुन्छ । तराई भेगमा भने भोलिमात्र होली मनाईन्छ ।

Categorized in राष्ट्रिय